Home  
Janahit Voice

मोरङ्ग सुनसरी उद्योगहरुमा देखिएको विद्युत आपूर्तिको समाधान छ: कुलमान घिसिङ

१० बैशाख २०८०, आईतवार

सुमित्रा घिमीरे, काठमाण्डौं

बिना जानकारी नेपाल विद्युत प्राधिकरणले विद्युत कटौती गरेपछि सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगीहरु सडकमा उत्रिएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार ऊर्जा क्षेत्रका पत्रकारहरूसँगको भेटमा त्यस क्षेत्रमा देखिएको समस्या १०/१५ दिनमा समाधान हुने र समस्यालाई बुझिदिन उद्योगीहरूलाईआग्रह गरेका छन।

तालिकाबिना दैनिक ८ देखि १२ घण्टासम्म हुँदै आएको अनियमित विद्युत् कटौतीले उद्योग चौपट भएको भन्दै मोरङ व्यापार संघले आइतबार विद्युत् प्राधिकरणको दुहवी ग्रिडमा घेराउ गरेर विद्युत् कटौतीको तालिका सार्वजनिक गर्न र भएको विद्युत् व्यवस्थित रुपमा वितरण गर्नुपर्ने माग गर्दै संघमा आबद्ध सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगीले ग्रिडमा धर्ना दिएका हुन् ।

तर नेपाल विद्युत प्राधिकरणले कोशी प्रदेशका सुनसरी मोरङ औद्योगिक करिडोरलगायतका क्षेत्रमा देखिएको अहिलेको विद्युत् आपूर्तिको समस्या अल्पकालीन भएको प्रष्ट पारेको छ। यस वर्ष हिउँ/पानी नपरेर सुख्खायाम लम्बिदा नदी प्रवाहमा आधारित जलविद्युत आयोजनाहरूको विद्युत उत्पादनमा करिब ३० प्रतिशत गिरावट आएको, धनुषाको ढक्केबर सबस्टेसनबाट थप विद्युत पूर्वतर्फ पठाउन प्रसारण लाइनको क्षमताले नधानेको उल्लेख गरे।

यस्तै, सप्तरीको रुपनी सबस्टेसनको बे्रकर चुँडिएको र कटैया–कुशहवा १३२ केभी प्रसारण लाइनमार्फत भारतको बिहारबाट आयात भइरहेको विद्युत उताबाट कटौती हुँदा माग अनुसार आपूर्ति गर्न समस्या भएको कार्यकारी निर्देशक घिसिङले बताए।

घिसिङकाअनुसार ताप्लेजुङ, पाँचथर र इलाममा निर्माण भएका जलविद्युत आयोजनाहरूको जडित क्षमता करिब दुई सय मेगावाट भएता पनि हिउँ/पानी नपर्दा अहिले करिब ३० मेगावाट मात्र विद्युत उत्पादन भई काबेली करिडोर प्रसारण लाइनमार्फत प्रवाह भइरहेको छ।

तर, एक दुई दिनदेखि ती आयोजनाहरूबाट विद्युत उत्पादन बढ्दै गएकोले उद्योगहरूलाई अहिले नियमित विद्युत आपूर्ति भइरहेको कार्यकारी निर्देशक घिसिङले बताए।

‘सुनसरी मोरङ ओद्योगिक करिडोरका उद्योगहरूलाई विद्युत काटेका छैनौं, लाइटिङ लोडमा मात्र चलाउनु भनेका थियौं, काबेली करिडोरमा उत्पादन बढ्नासाथ उद्योगहरूलाई विद्युत आपूर्ति दिन सुरू गरिसकेका छौं, अहिले देखिएको अल्पकालीन समस्या हो, ठूलो समस्या हैन,’ उनले भने।

‘अब १०/१५ दिनमा पूर्व मनसुन सुरू हुने अनुमान गरिएको, त्यसपछि भएसँगै खोलानालामा पानीको वहाब बढेसँगै विद्युत उत्पादन वृद्धि हुन्छ, त्यसपछि आन्तरिक रुपमा खपत गरी अतिरिक्त भएको विद्युत जेठको पहिलो हप्ताबाट भारततर्फ निर्यात सुरू गर्छौं,’ उनले भने।

घिसिङका अनुसार यसवर्ष करिब १ हजार २ सय मेगावाट विद्युत निर्यात हुने अनुमान छ, निर्यात अनुमतिको स्वीकृतिका लागि भारतीय निकायहरूमा आयोजनाहरूको सूची पठाइसकिएको छ।

अहिले प्रणालीमा विद्युतको उच्चतम माग १ हजार ७ सय ५० मेगावाट पुगेको छ। औसत माग १ हजार ३ सय मेगावाट र आधार माग १ हजार २ सय ७५ मेगावाट रहेको छ।

तराईमा गर्मी बढ्दा खेतमा सिँचाइ गर्न सिँचाइको लोड अत्याधिक बढेको छ। झापाको दमकदेखि अनारमनी क्षेत्रको मात्र विद्युत माग ८० मेगावाट पुगेको छ।

प्राधिकरणले कुलेखानी जलाशयलाई २४सै घण्टा पूर्ण क्षमतामा चलाएको छ। आन्तरिक उत्पादनले विद्युत माग धान्न नसकेपछि दैनिक रुपमा औसतमा ५ सय मेगावाट आयात गरिएको छ।

गत वर्षभन्दा यस वर्ष जलविद्युत आयोजनाहरूको जडित क्षमता बढेता पनि पानी/हिउँ नपर्दा देशभित्रको विद्युत उत्पादनमा करिब ३० प्रतिशत गिरावट आएको छ।

प्राधिकरणका विद्युतगृहहरू बाहेक निजी क्षेत्रका जलविद्युतगृहको विद्युत उत्पादन जडित क्षमताको करिब १४ प्रतिशत मात्र रहेको प्राधिकरणको अनुमान छ।

कार्यकारी निर्देशक घिसिङले अगामी वर्षको गर्मी मौसममा अहिलेको जस्तो समस्या आउन नदिन अहिले ढल्केबर– इनरुवा ४०० केभी प्रसारण लाइन र हेटौंडा–भरतपुर–बर्दघाट–नयाँ बुटवल २२० केभी प्रसारण लाइन निर्माण
जतिसक्दो छिट्टै सम्पन्न गर्ने गरी काम भइरहेको बताए। यी लाइन बनेपछि ढल्केबरबाट पूर्व र पश्चिम विद्युत प्रवाहका लागि प्रसारण लाइनको समस्या नहुने घिसिङले थपे।

 

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *