Home  
Janahit Voice

बाइडेनको जीत : विश्वव्यवस्थामा के परिवर्तन ल्याउला ?

२३ कार्तिक २०७७, आईतवार

अमेरिकाको चुनावी नतिजाले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सत्ताच्यूत गरिदिएको छ । संसारभरि नै अत्यन्तै चासोका साथ हेरिएको यो निर्वाचनको परिणामपछि क्रिया–प्रतिक्रियाहरु आइरहेका छन् र मानिसहरु हर्ष प्रकट गरिरहेका छन् । नेपाल पनि त्यस प्रक्रियाबाट अछुतो छैन ।

आफ्ना अन्धराष्ट्रवादी विचार, गोराहरुको सर्वोच्चताको पक्षपोषण गर्ने उग्रनश्लभेदी सोचाइ अनि विश्व व्यवस्था आफूले चाहेको र सोचेको बाटोबाटै हिँड्नुपर्छ भन्ने अहंकारी व्यवहार बोकेका ट्रम्पको पतन विश्व व्यवस्थाका लागि तुलनात्मक रुपमा अग्रगामी फड्को नै हो । त्यसले विश्वभरि फैलिँदै र झाँगिँदै गइरहेको अन्धराष्ट्रवादी विचार, नश्लीय चिन्तनका आधारित रहेर सत्ता सञ्चालन गरिरहेका सबै शासकहरुको मुटुमा केही हलचल त अवश्य पैदा गराइदिएको नै होला । तर उनी निर्वाचनमा पराजित भएर ह्वाइटहाउसबाट च्यूत हुँदैमा त्यस्ता पश्चगामी विचार र सोचको पनि अन्त्य भइहाल्यो, अब विश्व व्यवस्थाले न्याय, शान्ति र प्रगतिको दिशामा नयाँ काँचुली फेर्नेछ भन्ने कदापि होइन । अहिले चुनावी परिणामले अमेरिकाको राष्ट्रपति पदबाट ट्रम्प गलहत्याइएका मात्र हुन्, तर त्यसले के पनि देखाएको छ भने उनले बोकेका सोच र विचारलाई बोक्ने ठूलो जमात अमेरिकामा स्थापित छ, दिनहुँ बढ्दै छ । र त्यसले अमेरिकी समाजमा बलियोसँग जरा गाडेर बसेको छ जसको जगमा ट्रम्पको मनपरी शासन चार वर्ष चलेको हो  ।

वास्तवमै भन्ने हो भने, अहिलेको चुनावी परिणामले अमेरिका आवरणमा एक सिंगो मुलुक भए पनि विचार र व्यवहारको हिसाबले त्यो गहिरोसँग दुई भिन्न मुलुकमा विभाजित भएर रहेको छ । यस अर्थमा पनि अहिलेको चुनावमा अमेरिकी समाजमा जब्बर ढंगले उपस्थित ट्रम्पवादीहरु निमिट्यान्न भएका वा मासिएका होइनन्, उनीहरुको अस्थायी हार मात्र भएको हो । साँच्चै नै भन्ने हो भने, अहिले कोरोनाको कहर नहुँदो हो तथा ट्रम्प अहंकार र दम्भमाथि नचढेका भए भिन्नै परिणाम निस्कन बेर थिएन । उनले स्वास्थ्य विज्ञानका मान्यता र विज्ञको सुझाव र चेतावनीलाई पन्छाएर हैन, त्यसलाई अंगीकर गर्दै कोरोनो महाव्याधिलाई सामना गर्ने बुद्धिमत्ता देखाएका भए सम्भवतः अहिलेको चुनावमा पनि उनको पराजय निक्कै टाढाका विषयवस्तु हुने थियो भन्ने तथ्यलाई हामीले भुल्नु हुँदैन ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *