बाँकेमा कार र बस ठोक्किदा डा. सञ्जु खाती खड्का र कार चालक सुवास अधिकारीको मृत्यु
बाँकेमा कार र बस ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काकी माइली भाइबुहारी ५३ वर्षकी डा. सञ्जु खाती खड्का र कार चालक गोरखाका अन्दाजी ३४ वर्षका सुवास अधिकारी रहेका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–८ मुगुवा खोली नजिकै मंगलबार दिउँसो साढे चार बजे पूर्वतर्फँ जादै गरेको मे १ ख ३३३५ नम्बरको बस र पश्चिमतर्फ जादै गरेको बा १३ च ८२५३ नम्बरको कार आपसमा ठोक्किँदा कारमा सवार दुई जनाको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते दुवै जनाको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो। दुर्घटनामा मृत्यु भएकी डा. खाती सुर्खेत प्रादेशिक अस्पतालमा कार्यरत रहेको खुलेको छ ।
दुर्घटनामा बसमा सवार ६ जना घाइते भएका छन्। उनीहरू खतरामुक्त रहेको प्रहरीले जनाएको छ। प्रहरीले तीव्र गतिका कारण दुर्घटना भएको अनुमान गरेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।