Home  
Janahit Voice

बालबालिकाको कान दुख्ने र पाक्ने समस्यालाई वेवास्ता नगरौ

२३ जेष्ठ २०८०, मंगलवार

बालबालिकाहरूमा कान दुख्ने र पाक्ने समस्या बढी हुन्छ । बेवास्ता गर्दा गम्भीर समस्या निम्तिन सक्छ । नाक, कान र घाँटी एक–अर्कासँग जोडिने भएकाले राम्रो हेरचाह गरिएन भने संक्रमण बढ्न सक्छ ।

बालबालिकामा कानको संक्रमण हुने जोखिम बढी हुन्छ । राम्रो हेरचाह गरिएन भने जटिल समस्या हुनसक्छ । नाक र कान जोड्ने एक किसिमको पाइप हुन्छ, जसलाई ‘यूस्टेशियन ट्यूब’ भनिन्छ । स–साना बालबालिकाहरूमा यो राम्ररी विकसित भइसकेको हुँदैन । उनीहरूलाई रुघाखोकीले बढी सताउँछ । त्यसैले कान पाक्ने सम्भावना बढी हुन्छ । कानको संक्रमण भएपछि पिप र पानी बग्छ । त्योसँगै फंगल ब्याक्टेरियल इन्फेक्सनले कानमा पिप बग्ने समस्या ल्याउँछ ।

सात वर्षभन्दा मुनिका बालबालिकाहरूमा यो समस्या बढी देखिन्छ । नाक र कान जोड्ने पाइप राम्ररी विकसित नभएको अवस्थामा सुताएर दुध खुवाउँदा संक्रमण हुने गर्छ ।बालबालिकाहरूलाई सुतेर स्तनपान गराउँदा, कानमा तेल हाल्दा, कोट्याउँदा कानको संक्रमण हुन्छ । कोट्याउँदा कानको जाली नै फाट्न सक्छ । बालबालिकाहरूलाई स्तनपान गराउँदा उनीहरूको टाउको माथि र हल्का कोल्टे पारेर गराउनुपर्छ । सुतेर स्तनपान गराउनुहुँदैन ।नुहाउँदा पानी पसेर कहिल्यै संक्रमण हुँदैन । पौडी खेल्दा कानमा पानी पस्दैन । जालीमा समस्या छ वा कान पाक्ने समस्या छ भने कानमा पानी पर्दा समस्या बढ्छ ।

कानमा तेल हाल्नु एकदमै गलत हो । कानमा तेल हाल्दा अहिलेसम्म कानलाई फाइदा पुर्‍याएको कुरा पुष्टि भएका छैनन् । बरु यसका बेफाइदा धेरै छन् । कान सुख्खा भए भ्यासलिनमा कपास राख्न सकिन्छ ।सानो शिशुको कान पाकेमा तत्कालै चिकित्सकसँग परामर्श लिनुपर्छ । एन्टिबायोटिकको प्रयोग गर्नुपर्छ ।

कान पाक्ने समस्या पटक–पटक भइरह्यो भने कानको जालीमा प्वाल पर्न सक्छ । प्वाल परेपछि हरेक पटक रुघा लाग्दा कानबाट पिप निस्कने समस्या हुन्छ । कानको नजिक टाउको हुने भएकाले कानको संक्रमण टाउकोसम्म फैलन सक्ने जोखिम पनि उत्तिकै हुन्छ । सुन्ने क्षमतामा कमी आउन सक्छ । जालीको प्वाल टालिएन भने अप्रेसन पनि गर्नुपर्ने हुन्छ ।

शिशुलाई कान पाक्नै नदिन तेल नहाल्ने, नकोट्याइदिने, दूध खुवाउँदा सावधानी अपनाउने गर्नुपर्छ । कानेगुजी निकाल्न ‘एयर वाक्स’ को प्रयोग गर्नुहुँदैन । बडको पनि प्रयोग गर्नुहुँदैन । कानको समस्या पटक–पटक देखिए चिकित्सकलाई देखाएर मात्र उपचार गराउनुपर्छ ।

(बरिष्ठ नाक, कान र घाँटीरोग विशेषज्ञ डा.सँगको कुराकानी )

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *