सुनकोशीमा वेपत्ता सिटिइभिटीका दुई कर्मचारीको शव भेटियो, एकको खोजी कार्य जारी
काठमाडौं- सुनकोसी नदीमा जिपसहित खसेर बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) दुई कर्मचारीको शव गाडीभित्रै भेटिएको छ ।
दुर्घटना भएको आज पाँचौँ दिन नदीबाट गाडी निकालिएपछि शव भेटिएको हो । जिपमा प्रशासन शाखाका निर्देशक तनहुँको भानु–९ का ५७ वर्षीय कृष्ण केसी र इलामका ३२ वर्षीय विद्युत प्राविधिक भानु पौडेलको शव नदिमा भेटिएको गाडीभित्र प्राप्त भएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीले जनाएको छ।
जिल्ला प्रहरी कार्यलय सिन्धुलीका अनुसार सीटीईभीटीको प्रशासन शाखाका निर्देशक एवं सहसचिव तनहुँको भानु नगरपालिका–९ का कृष्णबहादुर केसी र सीटीईभीटीमै विद्युत् प्रशिक्षकका रूपमा कार्यरत इलामका भानु पौडेलको शव भेटिएको हो । तर, सीटीईभीटीकै योजना महाशाखाका निर्देशक पूर्वी नवलपरासीका भुर्तेल भेटिएनन् ।भुर्तेललाई आज पनि खोजिने भएको छ ।
गत शुक्रबार भक्तपुरको सानोठिमीस्थित सीटीईभीटीबाट खोटाङ जाने क्रममा बीएबी ७४६७ नम्बरको स्कोर्पियो जिप दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनबाट सुनकोसी नदीमा खसेको थियो ।गाडीका चालक पौडिएर बाहिर निस्किएका थिए भने तीनजना बेपत्ता भएका थिए ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक सुवास थापाको कमाण्डमा खटिएको गोताखोरले गाडी भेटाएर नदीबाट बाहिर निकालेका हुन ।
जिपमा प्रशासन शाखाका निर्देशक तनहुँको भानु–९ का ५७ वर्षीय कृष्ण केसी, पूर्वी नवलपरासीको प्रगति–७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र इलामका ३२ वर्षीय विद्युत प्राविधिक भानु पौडेल सवार थिए ।