Home  
Janahit Voice

टोपबहादुर निलम्बन र मणिलाई ‘बिदा’ दिँदा एमालेका भीम रावलको नाम कतै आएन

२४ जेष्ठ २०८०, बुधबार

नेकपा एमालेले ३४९ जना केन्द्रीय कमिटीका सदस्यहरूको कार्य विभाजन गर्दै अन्तरपार्टी निर्देशन जारी गर्दा सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ ।

त्यस्तै अर्का नेता तथा स्थायी कमिटी सदस्य मणिचन्द्र थापाको जिम्मेवारीमा एमालेले ‘बिदा’ लेख्दा नेता भीम रावलको नाम भने कतै उल्लेख गरिएको छैन।

अध्यक्ष केपी शर्मा ओलीदेखि ३४९ नम्बर अर्थात अन्तिममा रहेका हेमराज राईसम्मको कार्य विभाजन तोकेको एमालेले पूर्व मन्त्री समेत रहेका थापा भने बिदामा बसेको एमालेको दस्ताबेजमा उल्लेख छ । एमालेमै रहे पनि थापाले पार्टीमा बिदा बस्ने भनेर निवेदन दिएकाले कार्य विभाजनमा उनको बिदा लेखिएको एमाले नेताले बताएका छन ।

एमालेले भुटानी शरणार्थी प्रकरणमा मुछिएका सचिव टोपबहादुर रायमाझीको जिम्मेवारी खोसेर निलम्बनमा राखेको जानकारी गराएको छ । रायमाझी हाल नक्कली भुटानी प्रकरणमा अनुसन्धानका क्रममा छन् ।

निर्वाचनमा अन्तर्घात गरेको आरोप लागेका केन्द्रीय सदस्य हरिनारायण महतोको निलम्बन फुकुवा हुँदा पूर्व उपाध्यक्ष समेत रहेका डा. भीम रावलको भने एमालेको जिम्मेवारीमा कहीँ कतै नाम उल्लेखगरिएको छैन।

आम निर्वाचनमा टिकट नदिएको लगायतका विषयमा अध्यक्ष केपी शर्मा ओलीप्रति सन्तुष्ट छैनन् भीम रावल । तर पछिल्लो समय नेता रावलसँग कुरा गर्न र पार्टी काममा फिर्ता गर्न भन्दै उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा ३ सदस्यीय वार्ता टोली गठन गरेको एमालेले वैशाख पहिलो साता एक चरण वार्ता समेत गरेको थियो । उक्त वार्ता सकारात्मक रहेको बताइए पनि एमालेले रावललाई अहिलेसम्म कुनै जिम्मेवारी दिने र पार्टीमा फर्काउने कुनै पहल गरेको छैन ।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *