नेपालले आज विश्व विजेता वेस्ट इन्डिजसँग ऐतिहासिक खेल खेल्दै
जिम्बावेमा जारी आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेपालले आज आफ्नो तेस्रो खेल खेल्दैछ।
नेपालले आज टेस्ट टिम वेस्ट इन्डिजसँग हरारेमा प्रतिस्पर्धा गर्न लागेको हो। खेल १२:४५ मा सुरू हुनेछ।
यसअघि नेपालले पहिलो खेलमा जिम्बावेसँग हार बेहोर्दा दोस्रो खेलमा अमेरिकालाई पराजित गरेको थियो।
वेस्ट इन्डिज नेपालका लागि बलियो प्रतिद्वन्द्वी हो । दुई पटक एक दिवसीय र टी–२० विश्वकप च्याम्पियन बनिसकेको वेस्ट इन्डिजसँग नेपालले पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो ।
नेपालले यसअघि वेस्ट इन्डिजसँग कुनै पनि खालको प्रतियोगिता खेल्ने अवसर पाएको थिएन । त्यसैले नेपालका लागि बिहीबारको खेल बलियो टोलीसँगको अग्निपरीक्षा हुनेछ ।
वेस्ट इन्डिजले आइसिसी एक दिवसीय विश्वकपको पहिलो र दोस्रो संस्करणको उपाधि जितेको थियो । सन् १९७५ मा इङ्ल्यान्डमा भएको पहिलो संस्करणको फाइनलमा वेस्ट इन्डिजले अष्ट्रेलियालाई हराएको थियो ।
यस्तै इङ्ल्यान्डमै सन् १९७९ मा आयोजना भएको दोस्रो संस्करणको फाइनलमा वेस्ट इन्डिजले आयोजक इङ्ल्यान्डलाई स्तब्ध बनाउँदै उपाधि जितेको थियो । यस्तै वेस्ट इन्डिजले सन् २०१२ र २०१६ मा टी–२० विश्वकप जितेको थियो ।
कमजोर बलिङका कारण पहिलो खेलमा छनोटको पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग आठ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गर्दै सुपर सिक्समा पुग्ने छनक देखाएको छ । वेस्ट इन्डिजविरुद्धको तेस्रो खेलमा पनि जितको लय कायम राख्न सके नेपालको सुपर सिक्स पुग्ने सम्भावना बलियो बन्नेछ ।
वेस्ट इन्डिज पनि नेपालाई हराएर जितको लय कायम राख्ने योजनामा छ । समूहको पहिलो खेलमा वेस्ट इन्डिजले अमेरिकालाई हराएको थियो । नेपालले समूह ‘ए’ को अन्तिम खेलमा असार ९ गते नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । १० टोली सहभागी छनोट खेलको समूह ‘बी’ मा श्रीलङ्का, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) रहेको छ ।
छनोट खेलमा समूहमा शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा प्रत्येक टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन् । फाइनल पुग्ने दुई टोली आगामी अक्टोबर–नोभेम्बरमा भारतमा हुने एक दिवसीय विश्वकपमा छनोट हुनेछन् ।
भारतमा हुने विश्वकपमा कुल १० टोली सहभागी हुनेछन् । विश्वकपमा आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बङ्गलादेश, इङ्गल्यान्ड, अफगानिस्तान र दक्षिण अफ्रिकाले स्थान बनाइसकेका छन्