Home  
१२ असार २०८०, मंगलवार
आज नेपालले साफ च्याम्पियनसिपमा पाकिस्तानसँग खेल्ने
काठमाडौँ– आज नेपालले १४औँ संस्करणको साफ च्याम्पियनसिप फुटबलमा पाकिस्तानसँग खेल्दैछ ।
भारतको बैंगलोरस्थित श्री कान्तिराव स्टेडियममा नेपाली समयअनुसार अपराह्न पौने ४ बजे हुने खेल दुवै टोलीका लागि प्रतिष्ठाको लडाइँ मात्र हुनेछ ।
समूहको अन्तिम खेल खेल्न लागेका दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् ।
समूह ए मा रहेका नेपाल र पाकिस्तान अंक विहीन छन् । तर गोल अन्तरका आधारमा नेपाल तेस्रो स्थानमा छ भने पाकिस्तान पुछारमा छ ।
नेपाल र पाकिस्तान आफ्ना दुवै खेलमा कुवेत र भारतसँग पराजित भएका थिए ।
समूह ए बाट भारत र कुवेत सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । जारी खेलमा कुवेत ६ अंकका साथ शीर्ष स्थानमा छ भने ६ अंक नै भएको भारत दोस्रो स्थानमा छ ।
समूह ए अन्तर्गत आजै भारत र कुवेत खेल्ने छन् । यो खेलले समूहको विजेता र उपविजेताको टुंगो लाग्ने छ ।