Home  
Janahit Voice

राष्ट्रिय सभा बैठक एमालेको अवरोधपछि स्थगित

२२ असार २०८०, शुक्रबार

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ। प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा नदिए संसद बैठक चल्न नदिने अडान आज पनि कायमै राखेको छ।

राष्ट्रिय सभाको आजको बैठकको प्रारम्भमै एमालेका सांसदहरूले आसनबाट उभिएपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसद विमला घिमिरेलाई बोल्न अनुमति दिएका थिए।

सांसद घिमिरेले केही दिनअघि पुस्तक विमोचनको एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बनाउन कुनै व्यक्ति दिल्ली गएको भनी अभिव्यक्ति दिएको भन्दै त्यसप्रति आपत्ति जनाइन्।

उनले नेपालको प्रधानमन्त्री नेपाली जनताका प्रतिनिधि रहने सर्वोच्च थलो सार्वभौम संसद्ले बनाउने व्यवस्था रहेको र कुनै व्यक्ति र बाह्य मुलुकले प्रधानमन्त्री बनाउन पहल गरेको सन्देश जाने गरी अभिव्यक्ति दिनु संविधान र मुलुकको स्वाधीनताविपरीत भएको टिप्पणी गरिन्।

सांसद घिमिरेले प्रधानमन्त्रीको राजीनामा नआएसम्म बैठकको नियमित कारबाही सञ्चालन हुन नसक्ने स्पष्ट पारिन्। अध्यक्ष तिमिल्सिनाले बैठकमा विनियोजन विधेयकमाथिको छलफलको कार्यसूची रहेको र यसलाई निष्कर्षमा पुर्‍याउन समय कम भएकाले बैठक पुनः सञ्चालनका लागि आग्रह गरेका थिए।

तर, एमालेका सांसदहरूले उभिएर विरोध जारी राखेपछि सभाध्यक्ष तिमिल्सिनाले बैठक स्थगित भएको घोषणा गरे। राष्ट्रिय सभामा विनियोजन विधेयकका बाँकी विभिन्न शीर्षकमाथिको छलफलका लागि यही असार २४ गते निर्धारण गरिएको छ।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *