Home  
Janahit Voice

तरूण दल विस्तार नेताका सन्तान राखेर गरेकोमा कांग्रेसभित्र विरोध

४ श्रावण २०८०, बिहीबार

नेपाली कांग्रेसले भ्रातृ संस्था, नेपाल तरूण दल विस्तार गर्दा नेताका सन्तानसमेत राखेको भन्दै विरोध भइरहेको छ। तरूण दल लामो समय अध्यक्ष विद्वान गुरूङले एकल चलाए। सभापति शेरबहादुर देउवाले गत असार १३ गते तरूण दलमा चार सय सदस्य मनोनीत गरेका थिए।

विधानविपरीत ‘जम्बो’ केन्द्रीय समिति बनाएकोमा सभापति देउवाको आलोचना भएको छ। प्रदेश र जिल्ला कार्यसमितिसँग समन्वय नगरी सभापति देउवाले तरूण दल विस्तार गरेका थिए।

कार्यकाल सकिएर पनि महाधिवेशन नभएका भ्रातृ संस्थाको तदर्थ समिति गठन केन्द्रीय समितिले गर्न सक्छ। सभापति देउवालाई भ्रातृ संस्थाका तदर्थ समिति ल्याउने जिम्मेवारी दिइएको थियो।

देउवाले नेता शेखर कोइराला र महामन्त्री गगन थापालगायतसँग परामर्श गरी तरूण दल विस्तार गरेका थिए।

तर साउन २ देखि जारी कांग्रेस केन्द्रीय समिति बैठकमा तरूण दल विस्तारलाई लिएर नेतृत्वमाथि केन्द्रीय सदस्यहरूले प्रश्नैप्रश्न उठाएका छन्।

संगठन विस्तारको शैलीलाई लिएर सभापति देउवासहित पदाधिकारीको विरोध भइरहेको छ।

‘कसलाई सोधेर तपाईंहरूले भ्रातृ संस्था विस्तार गर्नुभयो?,’ केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले बुधबारको केन्द्रीय समिति पदाधिकारीहरूतर्फ लक्षित गर्दै सोधे, ‘यो भ्रातृ संस्थामा त सबैले आफ्ना छोराछोरी राखेका रहेछन्।’

उनकाअनुसार ७ जना शीर्ष तहका नेताहरूले आफ्ना सन्तान, नातेदार र स्वकीय सचिवलाई तरूण दल सदस्य बनाएका छन्। ‘यही हो त हाम्रो संगठन गर्ने पारा?,’ उनले प्रश्न गरे।

उनले नेताहरूलाई व्यङ्ग्य कस्दै थपे, ‘तरूण दलमा मेरो छोरालाई राखिदिनु। महिला संघ बनाउने हो भने मेरी श्रीमतीलाई पनि राखिदिनु।’

तरूण दल सदस्यमा नेता गोपालमान श्रेष्ठका छोरा सम्पूर्णमान श्रेष्ठ, पूर्वउपसभापति विमलेन्द्र निधिका भतिज मानवेन्द्र निधि, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाका छोरा श्याम सिटौला, ईश्वरी न्यौपानेका छोरा सरोज न्यौपानेलगायत मनोनीत भएका थिए।

यसतर्फ लक्षित गर्दै बुढाथोकीले संगठन विस्तार शैलीबारे विरोध गरेका थिए। बुढाथोकीले यसो भनिरहँदा केन्द्रीय सदस्यहरू गलल्ल हाँसेका थिए।

बुढाथोकी यतिमा रोकिएनन्। गृहजिल्ला झापा कांग्रेसको प्रसंग झिके। त्यहाँ विधानविपरीत समिति बने पनि केन्द्रले हस्तक्षेप नगरेको उनको भनाइ थियो।

‘झापामा विधानविपरीत समिति बनाइएको छ। हाम्रै जिल्लाको हुनुहुन्छ, ए महमन्त्रीजी! तपाईं टुलुटुलु हेरेर मात्रै बस्ने?,’ महामन्त्री विश्वप्रकाश शर्मालाई किटान गर्दै उनले भने, ‘जिल्लाले १०० जनाको समिति बनाउन पाउँछ? त्यसो भए शेरबहादुरजीले ४ सय जनाको बनाए भो। विधान मिचेर समिति बनाउँदा तपाईंहरू नबोल्ने, हु आर यु? ननसेन्स!’

केन्द्रीय सदस्य सुशीला थिङले जिल्लामा भ्रातृ संस्था गठन हुँदा समन्वय हुने नगरेको बताइन्।

‘मैले फोन गर्दा केन्द्रीय सदस्यहरूसँग छैन, पार्टी जिल्ला सभापतिसँग बुझेर भ्रातृ संस्था विस्तार गरिएको हो भन्ने जवाफ पाएँ,’ उनले भनिन्, ‘यसमा म दु:खी छु। आफ्नो जिल्लाको भ्रातृ संगठनबारे केन्द्रीय सदस्यले पनि थाहा पाउनुपर्छ। संगठन कसले गरेको छ भन्ने केन्द्रीय सदस्यले बुझेको होला नि त!’

अर्की केन्द्रीय सदस्य रूपा विकले जिल्ला र केन्द्रीय सदस्यसँग नसोधी भ्रातृ संस्था विस्तार भएको बताइन्। ‘महिला संघ, तरूण दल विस्तार गर्दा हामीलाई खबर गरिएन। कोसँग बुझेर बनाइयो? काम गरेका साथीहरूलाई समावेश गरिएन,’ उनले भनिन्, ‘यसले त नैराश्यता ल्याउँछ।’

मधेस प्रदेशका सभापति कृष्ण यादवले तरूण दल र महिला संघ विस्तार गर्दा केन्द्रले जिल्ला र प्रदेशसँग समन्वय नगरेको बताए।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *