Home  
Janahit Voice

भारी वर्षाका कारण दाङको देउखुरी क्षेत्र डुबानमा

९ श्रावण २०८०, मंगलवार

गएरातिदेखि लगातार परेको अविरल वर्षाका कारण दाङको देउखुरी क्षेत्रका केही स्थान डुबानमा परेका छन् । राजपुर र गढवा गाउँपालिकाका साथै लमही नगरपालिकामा केही घर डुबानमा परेका छन्।

राप्ती नदीमा आएको बाढीका कारण राजपुर गाउँपालिका–५ भुर्कीहवाका स्थानीयको १२ वटा घर जति डुबानमा परेको जिल्ला प्रहरी कार्यालय लमहीलेले जनाएको छ। वडाध्यक्ष टंकबहादुर विष्टका साथै प्रहरी सहायक निरीक्षक महावीर चौधरी घटनास्थलमा खटिएका बताइएको छ।

राजपुर– २ की ३२ वर्षीया पुष्पा नेपालीको एक तले फुसले छाएको कच्ची घर अविरल वर्षाका कारण भत्किएको छ। घटनास्थलमा खटिएका प्रहरी नायब निरीक्षक रकम खड्काले कुनै मानवीय क्षति नभएको र नेपाली छिमेकीको घरमा आश्रय लिइरहेको जानकारी दिए।

त्यस्तै, लमही नगरपालिका–१ सुनडबरी र वडा नं. ३ को कान्तिपुरमा चार जना स्थानीयको घर डुबानमा परेको छ। सुनडबरीका ७० वर्षीय निमबहादुर सार्कीको घरमा पानी पसेपछि उनको दुई जनाको परिवारलाई छोरा छबे सार्कीको घरमा स्थानन्तरण गरिएको प्रहरीले जानकारी दिएको छ।

कान्तिपुरका ३६ वर्षीय रामबहादुर कुमालको घरमा पानी पसेपछि उनीहरू छतमा बसेको र उनीहरुको उद्धार कार्य जारी रहेको प्रहरीले बताएको छ। स्थानीय ४० वर्षीय सुशिल कुमाल र ६० वर्षीय दयाराम चौधरीको दुई तले कच्ची घरमा पानी पसे पनि उनीहरूको परिवार डुबान हुन थालेपछि निस्किएर सुरक्षित ठाउँमा पुगेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।

जल तथा मौसम विज्ञान विभागले सार्वजनिक सूचना जारी गर्दै पछिल्लो समयमा भारी वर्षा भएका कारण राप्ती र बबईलगायत अन्य‍ नदीहरूको जलसतह बढ्न सक्ने भन्दै सतर्क रहन अपील गरेको छ । दाङका बगासोती, लालमटिया, घोराही, शुक्रबारे, भालुबाङ, लमही, रातामाटा लगायत स्थानमा भारी वर्षा मापन भएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *