आज विश्व हेपाटाइटिसविरुद्धको दिवस मनाइँदै
काठमाडौँ – आज विश्व हेपाटाइटिसविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।
हरेक वर्षको जुलाई २८ तारिखमा मनाइने हेपाटाइटिसविरुद्धको दिवस यस वर्ष ‘एक जीवन, एक कलेजो’ नारासहित विभिन्न अस्पताल तथा चिकित्सकले जनचेतनामूलक कार्यक्रम र अन्तक्र्रिया आयोजना गरी मनाइँदै छ ।
कलेजोसम्बन्धी अध्ययनका लागि नेपाली चिकित्सकको सङ्घ (नासल)का अध्यक्ष एवं वरिष्ठ कलेजोरोग विशेषज्ञ डा सुधांशु केसी विशेषगरी भाइरल हेपाटाइटिस रोगबारे जनचेतना फैलाउन दिवस महत्त्वपूर्ण भएको बताउछन् ।
“नेपालमा हुने भाइरल हेपाटाइटिसमा चार प्रमुख छन् । पहिलोमा ‘ए’ र ‘इ’, दोस्रो ‘बी’ र ‘सी’ हेपाटाइटिससम्बन्धी जनचेतना फैलाउन यस दिवसको विशेष महत्त्व छ”, डा को भनाइ छ।
के हो हेपाटाइटिस ?
हेपाटाइटिस रोग कलेजोमा सुजन वा सुन्निनु हो जुन विभिन्न प्रकारका सङ्क्रामक भाइरस र गैरसङ्क्रामक कारणले स्वास्थ्यमा समस्या निम्त्याउने गर्छ । हेपाटाइटिस मुख्यतः पाँच प्रकारका हुने गर्छन् ।
कलेजोरोग विशेषज्ञ डा दिलीप शर्माका अनुसार यी सबैले कलेजोको रोग निम्त्याउने भए पनि सर्ने तरिका, रोगकोे गम्भीरता, भौगोलिक वितरण र रोकथामको विधि फरक हुने गर्छ । हेपाटाइटिस बी र सीले दीर्घकालीन समस्या निम्त्याउँछ । कलेजो सिरोसिस, कलेजो क्यान्सर र भाइरल हेपाटाइटिसबाट मृत्युसम्मको कारण हेपाटाइटिस बी र सी रहेको छ ।
भाइरल हेपाटाइटिस साइलेन्ट किलर पनि भनिन्छ । हेपाटाइटिस बी र सीका अधिकांश बिरामीमा लक्षण देखिँदैन, लक्षण नदेखिँदा ढिला उपचार गराउने कारण क्यान्सर लाग्ने हुन्छ । हेपाटाइटिस बी र सी एउटा समूहमा राखिन्छ । रगत र रगतजन्य पदार्थबाट सर्ने यो प्रकारको हेपाटाइटिस शारिरीक सङ्क्रमणबाट समेत सर्दछ । सीको सङ्क्रमण धेरै लागुपदार्थ दुव्र्यसनीमा फस्नेमा देखिने गरेको छ । हेपाटाइटिस बी सङ्क्रमित आमाबाट बच्चामा सर्ने हुन्छ । परिवार र समुदायमा बढी देखिने गर्दछ ।
हेपटाइटिस कसरी बच्ने ?
चिकित्सकका अनुसार हेपटाइटिस रोगको रोकथामको पहिलो उपाय भनेको यसको पहिचान नै हो । हेपटाइटिसको परीक्षण नियमित गर्नुपर्छ । हेपटाइटिस नभएका व्यक्तिले यसविरुद्धको खोप लगाउने, उमालेको पानी पिउने र सफा स्वच्छ आहार खाने, रातो मासु, रक्सी नखाने र जन्डिस तथा खाना अरुचिको लक्षण देखिएमा चिकित्सकको परामर्श लिन डा.को सुझाव छ ।
उनले भने, “हेपटाइटिस बी र सीलाई प्राथमिकतामा राखेर त्यसको परीक्षण र उपचार गर्नसके मात्र यस रोग कम हुँदै जान्छ ।” उनका अनुसार कलेजोलाईस्वस्थ्य राख्न व्यक्ति स्वयं सचेत हुनुपर्छ ।