Home  
Janahit Voice

आज अन्तर्राष्ट्रिय मानव वेचविखनविरुद्ध दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइँदै

१४ श्रावण २०८०, आईतवार

काठमाडौँ – ‘वेचविखनका प्रत्येक पीडितसम्म पुगौँ, कसैलाई न्यायबाट वञ्चित नगरौं’ भन्ने मुल नारासहित आज अन्तर्राष्ट्रिय मानव वेचविखनविरुद्धको दिवस नेपालसहित विश्वभरी विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

मानव वेचविखन उन्मूलन गर्न सचेतना जगाउने र त्यसका लागि विश्वव्यापी प्रतिबद्धतालाई सुदृढ गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो । नाराले बेचबिखन पीडितले भोग्ने शोषणको अन्त्य र उद्धारपछिको पुनःस्थापनाको सुनिश्चितता र बेचबिखनको जोखिममा रहेका समूहको संरक्षणको सन्देश दिएको छ ।

सामान्यतया प्रलोभनमा पारी, झुक्याई, डरत्रास देखाई कुनै पनि व्यक्तिलाई उसको इच्छाविपरीत कुनै न कुनैरूपमा शोषण गर्ने वा नाफा कमाउने उद्देश्यले जबर्जस्ती कुनै पनि कार्य गर्न बाध्य तुल्याइने अवस्थालाई नै मानव बेचबिखन भन्ने गरिन्छ ।

मानवको बेचबिखन तथा ओसारपसार बालश्रम, बाल दासत्व, धर्मपुत्र धर्मपुत्री, बालविवाह, बधुवा श्रम तथा दासत्व, मानव अङ्ग प्रत्यारोपण, यौन दासत्व, व्यावसायिक यौन शोषण, गैरकानुनी आप्रवासन आदि कार्यका लागि भइरहेको देखिन्छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वव्यापी सङ्कट, द्वन्द्व र जलवायु आपत्कालले मानव बेचबिखनको जोखिम बढिरहेको छ । विस्थापन र सामाजिक आर्थिक असमानताले असर परेका लाखौँ मानिस मानव बेचबिखनका तस्करको चपेटामा परेका छन् । यस्तै गरिबी, बेरोजगारी, शिक्षा र स्वास्थ्यमा पहुँच नभएका, भेदभाव, हिंसा, दुव्र्यवहारमा परेका व्यक्ति एवं सीमान्तकृत समुदाय मानव तस्करको नजरमा पर्ने गरेका छन् ।

मानव बेचबिखनको आयाम फराकिलो बन्दै गएकाले यसको नियन्त्रण चुनौतीको विषय बन्दै गएको छ । मानव बेचबिखन नियन्त्रणका लागि समयसाक्षेप कानुनको संशोधन र निर्माण गर्न आवश्यक भएको यस क्षेत्रमा काम गर्दै आएका साझेदार संस्थाहरूको भनाइ छ ।

नेपाल सरकारले महिलाहरु असुरक्षित भएको भन्दै कतिपय मुलुकमा कामदारका रुपमा महिलालाई जान रोक लगाएको छ । खाडी मुलुकका विभिन्न देशमा महिला कामदार पठाउन नेपालबाट रोक लगाइएको छ ।तर, मानव वेचविखनको अवस्था झन भयावह बन्दै गएको छ ।मानव वेचविखन रोक्नका लागि सचेतनासहित प्रभावकारी रुपमा अभियान सञ्चालन गर्नुपर्ने देखिएको छ । अहिले महिलामात्र होइन, पुरुष पनि यसको जोखिममा छन् ।”

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *