Home  
Janahit Voice

देशका ठुला नदीहरुमा पानीको वहाब उच्च

२९ श्रावण २०८०, सोमबार

सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । लगातार वर्षाका कारण पानीको बहाव उच्च भएपछि सप्तकोशी ब्यारेजको ५६ वटै ढोका खोलिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार ब्यारेजका ५६ वटै ढोका खोलिएको हो । ‘५६ वटै ढोका खोलिएको लामो समयपछिको इतिहास भएको बताइएको छ।
पानीको बहाव ४ लाख ५२ हजार क्यूसेक प्रतिसेकेण्ड मापन भएको छ । यो रेकर्ड २५ वर्षदेखि यताकै उच्च रहेको उनको भनाई छ ।

सप्तकोशी ब्यारेजमा ५६ वटा ढोका रहेका छन् । पानीको बहाव उच्च हुँदा मात्रै सबै ढोका खोलिने गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार स्थिति खतरामुक्त रहेको भएपनि ठूला सवारी साधनलाई ओहोरदोहोर गर्न आलोपालो गराइरहेको छ । कोशीमा सन् १९८९ सालमा ४ लाख ७२ हजार क्यूसेक प्रतिसेकेण्ड पानीको बहाव मापन गरिएको थियो ।

कोशी ब्यारेजमा पानीको बहाव १ लाख ५० हजार क्यूसेक प्रतिसेकेण्ड कट्यो भने सचेत गराउन रातोबत्ती बाल्ने गरिएको छ । दुईलाख कट्यो भने अर्को बत्ती बालिन्छ भने तीन लाख कटेपछि नदीको बीच भागमा अर्को बत्ती बाल्ने गरिएको छ । ब्यारेजको क्षमता ९ लाख क्यूसेक प्रतिसेकेण्ड पानीको बहाव धान्न सक्ने छ । तर ब्यारेज पुरानो भएका कारण क्षमता घटेको छ ।

नारायणी नदीको कटानले न्युरेचोक क्षेत्र कटान

मेघौली – लगातार वर्षाका कारण नारायणी नदीमा बाढी आउँदा महानगरपालिका–२७ र २८ को सिमानामा रहेको न्युरेचोकमा नारायणी नदीले न्युरेचोक क्षेत्र कटान गरेको छ।

नदीको बाढीले तटबन्धका निम्ति बनाइएको ड्याम कटान गरी गत वर्ष राखिएका ठूला ढुङ्गासमेत बगाउन थालेको सूचना पाएलगत्तै नारायणी नदी व्यवस्थापन आयोजना, भरतपुर महानगरपालिका विपद् व्यवस्थापन तथा जनप्रतिनिधिहरुको टोलीले स्थलगत अनुगमन गरेको छ ।

सो स्थानमा नदीको कटान, रोकथाम र नियन्त्रणका लागि वडाका जनप्रतिनिधिहरु, स्थानीयहरु भरतपुर महानगरपालिका, नदी नियन्त्रण कार्यालय तथा सुरक्षा निकायहरुको संयुक्त टोलीले काम गरिरहेको छ । कटान स्थलमा हाँगासहितका रुख राखेर छालको प्रहार रोक्ने र जालीमा ढुङ्गा, बालुवा भरेर पर्खाल लगाउने काम भैरहेको बताइएको छ।

बर्सेनि वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रू. चार अर्ब ७२ करोडबराबरको तटबन्ध निर्माण कार्य सञ्चालनमा रहे पनि न्युरेचोक क्षेत्रमा अघिल्लो वर्षकै तटबन्ध रहेको र पुरानो तटबन्ध कटानमा परे पनि लगभग ३५ मिटरजति अगाडि रहेको नयाँ तटबन्ध भने सुरक्षित रहेको बताइएको छ।

तत्कालीन जनताको तटबन्ध कार्यक्रम र हालको नारायणी नदी नियन्त्रण आयोजनाले तटबन्ध बनाए पनि वर्षा हुँदा नदी गाउँमा पस्ने चिन्ता स्थानीयलाई भने हटेको छैन । २०७६ सालको वर्षायाममा पानी कम परेका कारण जोखिम नबढे पनि २०७४ को साउन र २०७५ को भदौमा पनि तटबन्ध भत्केको थियो । गत वर्ष र यसपटक पनि उस्तै पीडा दोहोरिएको छ ।

२०४५ तिर बाढी आएर तहसनहस बनाएको ठाउँमा अहिलेसम्म नदी नै बग्ने गरेको स्थानिय बताउछन। अहिलेको ठाउँबाट फेरि नदी दक्षिण लागे थुप्रै गाउँ हिउँदमा बगर र बर्खामा विशाल नारायणीको मार्ग बन्ने ठोकुवा गरेका छन। त्यसैले बेलैमा राम्रो तटबन्ध गर्न उनले आग्रह गरे । तर, बनेका तटबन्ध हरेक वर्ष बग्ने गरेको बताइएको छ।

कर्णाली नदीमा पानीको बहाव बढ्दै: तटीय क्षेत्रमा सतर्कता रहन आग्रह

सनिबारदेखि निरन्तर वर्षा जारी रहेपछि कर्णाली नदीमा पानीको बहाव बढ्दै गएको छ। चिसापानी जलमापन केन्द्रका अनुसार कर्णाली नदीमा पानीको बहाव आज बिहान ५ः५० बजेको मापनअनुसार पानीको सतह नौ मिटर ३३ सेन्टिमिटर पुगेको छ। पानीको सतह १० मिटर पुगेमा सतर्कता तह र १० मिटर आठ सेन्टिमिटर पुगेमा खतरा तह मानिन्छ । गेज रिडर पार्वती गुरुङले कर्णाली नदीमा पानीको सतह बढ्दै गएकाले सतर्कता अपनाउने आग्रह गरे।

महाकालीमा पानीको सतह बढेसँगै शारदा ब्यारेजमा सवारीसाधन आवागमनमा रोक

धनगढी- महाकाली नदीमा पानीको सतह बढेपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको छ । लगातारको वर्षापछि नदीमा पानीको बहाव बढेर एक लाख क्युसेक नाघेपछि आइतबार साँझदेखि सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *