पहिरोका कारण अझै खुलेन हेटौँडा–काठमाडौँ जोड्ने दुई मार्ग
मकवानपुर- पहिरोका कारण हेटौँडा काठमाडौँ जोड्ने दुई मार्ग अझै अझै खुल्न सकेको छैन। शनिबारदेखि परेको अविरल वर्षाका कारण खसेको पहिरोले भीमफेदी कुलेखानी सिस्नेरी काठमाडौँ सडक र कान्ति लोकपथ अवरुद्ध भएको हो ।
आइतबार बिहान खसेको पहिरोका कारण यातायात सेवा अवरुद्ध बनेको छ । आइतबार दिनभर लगातार वर्षा परेकाले पहिरो पन्छाउन सक्ने अवस्था नरहेपछि सडक बन्द रहेको हो ।
यता कान्ति लोकपथ अन्तर्गतमा खसेको २ स्थानमा पहिरो मध्ये एउटा हटाइएको छ भने एउटा अझै हटाउन सकिएको छैन । पहिरो पन्छाउन नसक्दा आइतबारबाट बन्द भएको उक्त सडक अझै सञ्चालनमा आउन सकेको छैन । आइतबार बिहान सो सडक खण्ड अन्तर्गत ललितपुरको भट्टेडाँडा नजिक टाकुर्चे र पाङ्दुर खोलामा पहिरो खसेको थियो ।
प्रहरी चौकी भट्टेडाँडाका अनुसार सो सडक खण्ड अन्तर्गत पर्ने बागमती गाउँपालिका–३ टाकुर्चेको पहिरो आइतबार साँझ नै पन्छाइएको थियो भने पाङ्दुर खोलामा पहिरो हटाउन सकिएको थिएन । सो स्थानमा अहिले पनि वर्षा रोकिएको र पहिरो पन्छाउने काम भइरहेको छ । पुनः वर्षा नभएको खण्डमा करिब २ घण्टामा सडक सञ्चालनमा आउने प्रहरीले जनाएको छ । पहिरोले सडक बन्द हुँदा यातायात सेवा प्रभावित भएको छ ।