Home  
Janahit Voice

बाढीले सयौं घर डुबानमा,बर्दिया र दोलखामा पाँच जना बेपत्ता

२९ श्रावण २०८०, सोमबार

शनिबारदेखिको लगातार वर्षाका कारण बाढीपहिरोबाट बर्दिया र दोलखामा पाँच जना बेपत्ता भएका छन् भने सयौं घर डुबानमा परेका छन् ।तेस्तै बबई नदीले बगाउँदा बर्दियाको गुलरियामा तीन जना बेपत्ता भएका छन्।

बबईमा दाउरा संकलन गर्न गएका गुलरिया—१२ भैसाहीका ३० वर्षीय बालकृष्ण थारु र गुलरिया—८ थपुवाका २३ वर्षीय अक्षय चौधरी र गुलरिया—२ का महेश चौधरीलाई बैरियाघाटमा बगाएको जिल्लाका प्रहरीले बताएको छ। आइतबार अबेरसम्म सुरक्षाकर्मी र स्थानीय उनीहरूको खोजीमै जुटेको थिए ।

खहरेले बगाउँदा बाबु–छोरा बेपत्ता

पहिरोबाट बगेर आएको लेदो मिसिएको खहरे तर्दा दोलखाको बिगु गाउँपालिका–७ तीनपातेमा बाबु–छोरा बेपत्ता भएका छन् । आइतबार दिउँसो नजिकैको जंगलमा निगुरो टिप्न गएका बिगु–७ का ३६ वर्षीय निम्दोर्जे शेर्पा र उनका १२ वर्षीय छोरा पासाङलाई खहरे तर्ने क्रममा माथिबाट आएको लेदोले बगाएर बेपत्ता पारेको वडाध्यक्ष दिलबहादुर श्रेष्ठले बताए । अर्का एक जना भने भाग्न सफल भएका छन् । बेपत्ताको बाबु–छोराको खोजीका लागि प्रहरी र स्थानीय परिचालित भएको बताइएको छ।

आइतबार बिहानदेखिको भारी वर्षाले गुलरिया, बारबर्दिया र बासगढी नगरपालिकामा ४ सय २३ घर डुबानमा परेका छन् । गुलरिया—५ प्रयागपुरस्थित बबई नदीको तटबन्ध भत्किँदा गुलरिया—८ र ११ मा २ सयभन्दा बढी घर डुबानमा परेको प्रहरीले जनाएको छ । बाढीले गुलरिया—११ इन्द्रपुर, टडुवा र सूर्यगौढी गाउँ पनि डुबानमा परेको छ । इन्द्रपुरका बाढी प्रभावित हुलाकी सडकमा टेन्ट राखेर बसेका छन् ।

बारबर्दिया—८ औरी, भगतपुर र दुद्यामा ४३ घर डुबानमा परेका छन् । बासगढी–९ कुइनिटीमा १ सय २० घर र वडा–८ का ६० घर डुबानमा परेको डीएसपी बोहराले बताए । बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी मोहन अर्यालले डुबान क्षेत्रमा उद्धारका लागि प्रहरी, स्थानीय परिचालित भएको बताए । यस्तै, बबईको कटानले ठाकुरद्वारास्थित खैलारमा तटबन्धको लन्चिङ जाली बगाएको छ । बबई र कर्णालीमा जलस्तर बढ्दै गएकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *