Home  
Janahit Voice

सन्दीप लामिछाने मुद्दामा पीडितकी आमाको जन्ममिति यकिन गर्न अदालतको आदेश

३२ श्रावण २०८०, बिहीबार

काठमाण्डौं – जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा पीडितकी आमाको जन्ममिति यकिन गर्न आदेश दिएको छ।

बिहीबार न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडितकी आमाको जन्ममिति यकिन गर्न आदेश दिएको सन्दीपका वकिल मुरारी सापकोटाले जानकारी दिए।

आजदेखि नियमित सुनुवाई गर्ने भनिएको थियो। तर पीडितको उमेर सम्बन्धी कागजातमा उनकी आमाकै उमेर दुईवटा देखिएपछि इजलासले पीडितकी आमाको जन्ममिति यकिन गर्न आदेश दिएको बताइएको छ।

गत फागुन १५ गते फास्ट ट्र्याकबाट सन्दीपविरूद्धको मुद्दा किनारा लगाउन सर्वोच्च अदालतले आदेश दिएको थियो। त्यसपछि कैयौं पटक मुद्दा सुनुवाइका लागि पेशी चढेपनि स्थगित भएका थिए।

उनले काठमाडौंको गौशालास्थित एक होटलमा एक नाबालिकलाई बलात्कार गरेको आरोपमा मुद्दा खेपिरहेका छन् । पछिल्लो पटक विश्वकप छनोटका लागि जिम्बाबे प्रस्थान गरेयता मुद्दाले निरन्तरता पाउन सकेको थिएन ।

प्रहरीमा जाहेरी दर्ता हुँदा सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा थिए। घटनापछि नेपाल क्रिकेट संघ(क्यान)ले सन्दीपलाई निलम्बन गरेको थियो।

वेस्ट इन्डिजमा रहेका सन्दीप नफर्केपछि नेपाल प्रहरीको आग्रहमा असोज १० गते इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो। इन्टरपोलमा नोटिस जारी भएपछि असोज २० गते नेपाल फर्किएका सन्दीप विमानस्थलबाटै पक्राउ परेका थिए।

मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।

जिल्ला अदालतको आदेशविरूद्ध सन्दीपले उच्चमा पुनरावेदन दिएका थिए। पुस २८ गते उच्चले उनलाई २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो।

उच्च अदालतको आदेशविरूद्ध महान्यायाधिवक्ताको कार्यालय र सन्दीप लामिछाने सर्वोच्च पुगेका थिए। क्रिकेट खेल्न विदेश जान पाउनुपर्ने मागसहित सन्दीपले फागुन १२ गते शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए।

सन्दीप र महान्यायाधिवक्ताको कार्यालयले दिएको निवेदनबारे एकसाथ सुनुवाइ गर्दै सर्वोच्चले फागुन १५ गते उच्च अदालत पाटनको आदेश सदर गर्दै सन्दीपलाई क्रिकेट खेल्न विदेश जाने अनुमति दिएको थियो।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *