Home  
Janahit Voice

आज नागपञ्चमी पर्व नागको पूजा गरी मनाइँदै

४ भाद्र २०८०, सोमबार

काठमाडौँ -आज नागपञ्चमी पर्व परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ ।

आज काठमाडौँको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा पूजा गर्नेहरुको घुइँचो छ । नागको पूजा गरी गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसादको रुपमा चढाउने गरिन्छ ।

यसवर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद्को भनाइ रहेको छ।

नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । बराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिनमा नागपूजाका लागि प्रसिद्ध मानिन्छ ।

काठमाडौं उपत्यकामा भने नाग रिसाए भने चोभारमा पहिरो जाने र पहिले जस्तै उपत्यकामा पानी जम्ने र समस्या आउन सक्छ भनेर नागलाई विधिपूर्वक पूजाआजा गर्ने गरेको किंवदन्ती छ। यस सम्बन्धमा कसै कसैले नागले यो धर्तीको बोझ बोकेकाले काँध फेर्दा पृथ्वी कम्पन हुने वा हल्लने अथवा भूकम्प जाने बताउँछन्।

यिनै विश्वासले गर्दा घरको जग हाल्दा, घर निर्माण गर्दा पहिला नागलाई पूजा गर्ने र नागको शिरलाई विशेष ख्याल गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता छ। विष्णु भगवान, शिव र देवीदेवतासँग समेत नागको सम्बन्ध रहेको जनविश्वास छ त्यसैले नागलाई शक्ति र देवताको रूपमा लिने र पूजापाठ गर्ने गरेको पाइन्छ।

प्रत्येक घरमा नाग रहेका हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आइएको हो । नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवान्लाई नागका रुपमा मान्ने गरिएको हो ।

वैज्ञानिकरुपमा प्रकृतिमा भएका बिषालु पदार्थलाई नाग, सर्पलगायतका जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई बिषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रीत बसालेको विश्वास छ । नागपञ्चमीपछि वैदिक सनातनी हिन्दू धर्मावलम्बीका चाडबाडको याम सुरु हुन्छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *