Home  
Janahit Voice

कोशी सरकार संकटमा पारेर उपसभामुख लागिन् काठमाडौं

४ भाद्र २०८०, सोमबार

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापाले विश्वासको मत लिने प्रयोजनका लागि आफैंले बोलाएको बैठक छलेर उपसभामुख सिर्जना दनुवार काठमाडौं गएकी छन् ।

बिहान ७ बजेको यति एयरलाइन्सको फ्लाइटबाट उनी काठमाडौं लागेकी हुन् । उनले आफू अचानक बिरामी भएकाेले प्रदेशसभाकाे बैठक संचालन गर्न असमर्थ रहेकाे जानकारी दिएकी छिन् । दनुवार उपचारको बहाना बनाएर काठमाडौं गएको गठबन्धन दलको आरोप छ ।

मुख्यमन्त्री थापाले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा सचिवालयमा आइतबारका लागि समय माग गरेका थिए । थापाको माग विपरीत उपसभामुख दनुवारले भने सोमबार (आज)का लागि बैठक आव्हान गरेकी थिइन् । उनै दनुवारले आज बिहान ८ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बोलाएकी थिइन् ।

थापालाई विश्वासको मत लिन नदिनका लागि एमालेले उपसभामखुलाई अनुपस्थित गराउने आशङका गरिँदै आएको थियो । उक्त आशङ्कालाई बल पुग्ने गरी उपसभामुख दनुवार प्रदेशसभाको बैठकै छलेर काठमाडौं लागेकी हुन् ।

यसअघि हिंजै एमालेले ७ जना र राप्रपाले २ जना प्रदेशसभाका जेष्ठ सदस्यहरुलाई विदामा बस्न लगाएको छ । उनीहरुले ‘घरायसी समस्या’ देखाउँदै संसद सचिवालयमा आजको प्रदेशसभा बैठकमा उपस्थित हुन नसक्ने जनाएका छन् ।

थापाले विश्वासको मत लिनका लागि आज दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक बोलाईएको थियो । उपसभामुखले राजीनामा दिएको वा अनुपस्थित भ एको अवस्थामा जेष्ठ सदस्यले सभा संचालन गर्नुपर्ने भएकोले एमाले र राप्रपाले उनीहरूलाई विदामा राखेको हो । सभा संचालन गठबन्धन दलकै सांसदले गर्नुपर्ने अवस्था आए मुख्यमन्त्री थापालाई बहुमत (४७) संख्या पुर्याउन कठिन हुनेछ । सत्तापक्षमा रहेका ४७ सांसदमध्ये १ सांसदले सभा संचालन गर्नुपरेको अवस्थामा गठबन्धनलाई १ सांसद अपुग हुने देखिन्छ ।

कोशीमा यसअघि सरकार बनाउन गठबन्धनले सभामुख बाबुराम गौतमलाई राजीनामा गराएको थियो भने प्रदेश सभाका ज्येष्ठ सदस्य कांग्रेस सांसद गयानन्द मण्डललाई बैठकको अध्यक्षता गर्न नदिन राज्यमन्त्रीमा नियुक्त गरेको थियो ।

हाल कोशी प्रदेश सभामा एमालेको ४०, नेपाली काँग्रेसको २९, नेकपा माओवादीको १३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ जना सांसदले प्रतिनिधित्व गरिरहेका छन् । एमाले थापा नेतृत्वको सरकार ढालेर पुनः आफ्नै नेतृत्वमा सरकार गठन गर्न चाहन्छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *