आज गौरा पर्व, सुदूरपश्चिममा धुमधामका साथ मनाइँदै
सुदूरपश्चिमको मौलिक पहिचान बोकेको गौरा पर्व धुमधामका साथ आज मनाइँदै छ। सुदूरपश्चिमका पहाडी जिल्लादेखि तराईका कैलाली र कञ्चनपुर लगायत ठाउँहरुमा यतिबेला गौराको रौनकता छाएको छ।
प्राचीनकालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रुपमा भगवान शिवकी अर्धांगिनी शक्तिस्वरुपा पार्वती (गौरी)लाई गौरादेवीका रुपमा पूजा अर्चना गरिँदै आएको बताइन्छ।
भाद्र शुक्लपक्ष पञ्चमीदेखि सुरु हुने गौरा पर्व परम्परागत रीतिअनुसार मनाइने पर्वmaa विवाहित नारीले आफ्नो परम्पराअनुसार पुरुषजस्तै यज्ञोपवित्रताका रुपमा दुब–धागो लगाउने चलन यस क्षेत्रमा रहेको छ। नारीले पुरुषजस्तै यज्ञोपवित्रताका रुपमा दुब–धागो लगाउने र त्यसमै लक्ष्मीको वैदिक मन्त्र जप्ने चलन छ।
दुर्वाष्टमीका दिन (आज) गौराको महत्वपूर्ण दिन हो। यसलाई अठेवाली पनि भन्ने गरिन्छ। यो दिन महिलाले सगुन फागसहित गौरादेवीलाई आँगनमा लगेर राख्छन्। सबै महिला जम्मा भई अठेवाली गायनसँगै बिरुडाले गौराको पूजा गर्दछन्। अठेवालीकै बीचमा प्रसंगअनुसार एउटा धर्मकथा प्रस्तुत गरिन्छ। यो कथा सबै महिलाले सुन्ने सुनाउने गर्दछन्।
त्यसपछि मङ्गल गीत (सगुन, फाग) सहित तामाको ताउलीलाई गाईको गोबर, दुबो र जौँ तिलले सजाउने परम्परा छ। पाँच अन्न बिरुडा (मास, गहत, गहुँ, कलौँ र गुरौँस) तामाको भाँडोमा हाली सुगन फाग गायनसँगै गौरा भित्र्याइन्छ। बिरुडालाई देवीको प्रतीकका रुपमा मानी चन्दन, अक्षता, फूल, धुप, दीप, फललगायत चढाएर पूजा गर्ने गरिन्छ।
उक्त भिजाएका बिरुडा भएको ताउलीलाई टाउकामा राखी सगुन, फाग गायनसँगै महिलाले पानीको मुहानमा लगेर सगुन गायनसँगै पाँचपल्ट धुने प्रचलन छ। धारामा साँवाधानको गौरादेवीको मूर्ति बनाएर स्थापना गरी बिरुडा तथा चन्दन, अक्षता, पाती, धुप, दीप, फल आदिले पूजा गरी पुनःफाग गायनसँगै घरमा भित्र्याउने चलन रहेको C सप्तमीको दिन कन्याले खेतबाट धान, साँवाधान, कुर्जो आदि हालेर रातो कपडा वा घुम्टीमा बेरेर गौराको मूर्ति बनाई गौरा घरमा ल्याउँछन्।
गौरालाई डालोमा राखेर शुद्ध आसनमा स्थापित गरिन्छ। एउटा काठको पिर्कामा पहेँलो कपडा बनाएर महेश्वर पनि स्थापना गरिन्छ। अठेवालीको दोस्रो दिनदेखि विभिन्न देवालयमा पुरुषको देउडा खेल सुरु हुन्छ। देवीदेवता तथा पौराणिक कथावस्तुमा आधारित ढुस्को, धुमारी, ठाडोखेललगायत प्रस्तुत गरिन्छ।
काठमाडौँको टुँडिखेलमा पनि यस दिन देउडा गीत र नृत्य गरी सुदूरपश्चिमवासीले मनोरञ्जन गर्ने गरेका छन् । राजधानीमा सुदूर र मध्यपश्चिमवासीको बस्ती बढेसँगै यो पर्व यहाँ पनि धुमधामका साथ मनाउन थालिएको हो ।
सुदूरपश्चिम प्रदेशमा आज र भोलि सार्वजनिक बिदा दिइएको छ ।