Home  
Janahit Voice

आजदेखि आयो एमसीसी परियोजना कार्यान्वयनमा,माइतीघरमा विप्लवको विरोध प्रदर्शन

१३ भाद्र २०८०, बुधबार

काठमाडौं- बहुचर्चित मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना बुधबार देखि (आज)कार्यान्वयनमा गएको छ ।

सम्झौता भएको ६ वर्षपछि परियोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको हो । नेपाल र अमेरिकाबीच २०७४ भदौ २९ गते एमसीसी परियोजना अघि बढाउने सम्झौता भएको थियो।

अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका कम्प्याक्ट सञ्चालन सम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले बुधबार अर्थ मन्त्रालयमा प्रमुख सरोकारवालाहरूको उपस्थितिमा एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश (इन्ट्री इन्टु फोर्स–ईआईएफ) सम्बन्धी पत्र आदानप्रदान भएको छ । यससँगै पाँच वर्षको समय तोकिएको एमसीसीका परियोजना कार्यान्वयनमा गएको छ ।

सम्झौताको धारा ७.४ मा सम्झौता लागू भएको मितिदेखि पाँच वर्षको अवधिसम्म बहाल रहने उल्लेख छ । ३० अगस्त २०२३ मा सम्झौता लागू भएको यो परियोजना २९ अगस्त २०२८ भित्र आयोजना निर्माण सम्पन्न गरिसक्नुपर्छ । त्यसो नभएमा खर्च हुन बाँकी रकम एमसीसीले फिर्ता लैजाने छ । सोहीकारण यी आयोजना समयमै सम्पन्न गर्नुपर्ने दबाब छ ।

नेपाल र अमेरिका सरकारको एमसीसीबीच ५० करोड अमेरिकी डलर अनुदान सहयोग लिने र पूर्वाधार आयोजना बनाउने भनेर २०७४ सालमै सम्झौता भएको थियो । नेपालका तर्फबाट १३ करोड डलर गरी करिब ८३ अर्ब करोड रूपैयाँ लागतमा आयोजना बन्नेछ ।

मे २०२२ मा एमसीसीका सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स र अर्थ मन्त्रालयका तत्कालीन सचिव तथा एमसीए नेपालका तत्कालीन अध्यक्ष मधुकुमार मरासिनीले सन् २०२३ को अगस्टदेखि सम्झौता लागू हुने समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । केही पूर्वतयारीका काम बाँकी नै रहे पनि सोही समझदारीअनुरुप बुधबारदेखि कार्यान्वयन सुरु गरिएको हो ।

यता नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता माइतीघरमा भेला भएर एमसीसी विरुद्ध प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनमा नेकपाका महासचिव विप्लव, नेता प्रकाण्ड, धर्मेन्द्र बास्तोला लगायत सहभागी थिए ।

माइतीघरमा प्रदर्शन भइरहँदा सिंहदरबारमा भने अर्थमन्त्री डा.प्रकाश शरण महत र एमसीसीका कम्प्याक्ट सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश सम्बन्धी पत्र आदानप्रदान गरेका थिए ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *