Home  
Janahit Voice

आठ वर्ष पछि तातोपानी नाका सर्वसाधारणका लागि खुला

१५ भाद्र २०८०, शुक्रबार

काठमाण्डौं- तातोपानी नाकामा आज(शुक्रबार)बाट स्थानीय सर्वसाधारणले आवतजावत गर्न पाउने भएका छन्। आठ वर्ष पाँच महिनापछि सर्वसाधारणका लागि उत्तरी तातोपानी नाका खुला गरिएको हो।

चिनियाँ अधिकारी र नेपाली अधिकारीहरूबीच गत मंगलबार तिब्बतको ल्हासामा भएको बैठकमा नाका आजदेखि सर्वसाधारणका लागि पनि खुलाउने सहमति भएको र सोही अनुसार नाका खुल्ने सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यलयले जनाएको छ। नाका सञ्चालनबारे कुनै औपचारिक कार्यक्रम भने नराखिएको बताएको छ।

लामाे समयपछि चिनियाँ क्षेत्र प्रवेश गर्न पाएपछि स्थानीय हर्षित देखिएका छन् । खासा व्यापारमा मात्रै निर्भर सीमाबासीलाई चिनियाँ क्षेत्र लिपिङपारी १५ वटा, रमिते र खासामा ५ वटा पसल सञ्चालन गरिएकाे छ ।स्थानीयले ती पसलमा गएर कपडा र घरायसी सामान किन्न पाउँछन् ।

प्रहरीका अनुसार दुबै देशका नागरिकले आवतजावतका लागि पास पाउनेछन्। नेपालीका लागि उक्त पास कोदारीस्थित अध्यागमन विभागले जारी गर्छ।

जिल्लाभित्रका नागरिकले पाउने पासको अवधि एक वर्ष हुन्छ। नाकामार्फत आवतजावत गर्नेहरुलाई निश्चित ठाउँसम्म पुग्ने अनुमति हुन्छ। तोकिएको ठाउँभन्दा अन्य ठाउँमा जान नपाउने बताइएको छ।

२०७२ सालको भुकम्पयता तातोपानी नाका बन्द हुँदै आएकोमा तीन महिनाअघिबाट मालवाहक सवारीको आवात जावत खुलेको थियो। मानिस आवत जावत भने खुल्न सकेको थिएन।

यात्रु आवात जावत खुलेसँगै सो नाकाबाट हुने व्यापारमा थप सुधार हुने अपेक्षा गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल आगामी असोज ५ गते चीन भ्रमणमा जाने कार्यक्रम छ। उनको भ्रमणमा तातोपानी व्यापार नाका प्राथमिकतामा पर्ने व्यवसायीहरूको विश्वास छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *