Home  
Janahit Voice

आज महानगरपालिकाको नगर प्रहरी बलको ३१ औँ स्थापना दिवस

१५ भाद्र २०८०, शुक्रबार

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका नगर प्रहरी बलले आज ३१ औँ दिवस मनाएको छ ।

महानगरपालिकाको नगर प्रहरी बलको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख बालेन्द्र साहले महानगरका सबै नीति, योजना तथा कार्यक्रम कार्यान्वयनसँग जोडिएर काम गर्ने दायित्व भएको नगर प्रहरी संस्थाको मेरुदण्ड भएको उल्लेख गर्नुभयो ।

महानगरपालिकाले १५० रोपनीभन्दा बढी सार्वजनिक जग्गा संरक्षण गर्न सफल भएको, पार्किङ व्यवस्थापनमा लागेको र अवैधानिक संरचनाहरू हटाएर सुशासन कायम गराउन लागेको उल्लेख गर्दै यस काममा नगर प्रहरीको भूमिकाको प्रशंसा गर्नुभयो ।

त्यस क्रममा नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरले सहरी सुरक्षाका लागि सीसीटिभी क्यामरा जडान गर्नेलगायत महानगरपालिकासँग विभिन्न क्रियाकलापमा सहकार्य भएको उल्लेख गर्नुभयो । त्यस्तै शसस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले, सुरक्षाविना विकास र विकास बिना सभ्यता संरक्षण हुन नसक्ने बताउँदै महानगर प्रहरी बलले सहरी सुरक्षा र सुव्यवस्थाका लागि आफूलाई स्थापित गरेको धारणा राख्नुभयो ।

मेयर बालेनले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई बुद्धि, विवेक पुर्‍याएर राजनीतिक दबाबमा नआईकन काम गर्नसकेमा सहरमा सुशासन ल्याउन सकिने भन्दै प्रहरी नेतृत्वलाई आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आफूले परिकल्पना गरेको सहर निर्माण गर्नका लागि नगर प्रहरीले सशक्त भूमिका निर्वाह गरेको उल्लेख गर्दै नगर प्रहरीसँग जनप्रतिनिधि र स्थानीयबासीले गरेको भरोसा कायम राख्नुपर्ने बताउनुभयो । त्यस क्रममा काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले, सुरक्षा निकायहरु (नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग) को मुख्यालय काठमाडौँ महानगरपालिका क्षेत्रभित्रै रहेकोले सुरक्षा व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिकाको विशिष्ट भूमिका रहने र यसमा नगर प्रहरी बलको उपस्थिति बलियो हुने बताउनुभयो ।

नगर प्रहरी अब नागरिकहरुसँगै समस्या समाधान गर्ने संयन्त्र बन्नेछ । कार्यक्रममा महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले भन्नुभयो, ‘महानगरपालिकाको छवि सुधार गर्न नगर प्रहरीको अहम भूमिका हुनेछ ।’

स्थानीय सरकारको अभिन्न अङ्गका रुपमा रहेको नगर प्रहरी बलको क्षमता बढाएर पभावकारी परिचालन गर्ने हाम्रो योजनामा छ । कार्यक्रममा सुशासन समितिका संयोजक ख्यामराज तिवारीले भन्नुभयो, ‘नगर प्रहरी सेवा स्थानीय सरकारको पहिचान हो । यसले सहरको पहिचान बढाउने काम गर्नेछ ।’

प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले दिवसका अवसरमा नेतृत्वले महानगरपालिकाको नीति, कानुन तथा निर्णय कार्यान्वयन, सहरी सुव्यवस्थाका विविध क्षेत्रको अघि सारेका कार्यक्रम कार्यान्वयनमा नगर प्रहरीले कर्तव्य पालना गर्ने बताउनुभयो ।

कार्यक्रममा ३ विधामा ७ जना नगर प्रहरीलाई सम्मान गरेको छ। यसमा महानगर प्रहरी गौरव पुरस्कारबाट नगर प्रहरी सहायक निरीक्षक लीला थापा क्षेत्री पुरस्कृत हुनुभयो । पुरस्कारको राशी ३० हजार रुपैयाँ हो । नगर प्रहरी निरीक्षक विष्णुराज शर्मा दाहाललाई उत्कृष्ट महानगर प्रहरी पुरस्कार प्रदान गरियो । यो पुरस्कारको राशी २० हजार रुपैयाँ हो ।

१० हजार रुपैयाँ राशीसहितको महानगर प्रहरी पुरस्कारबाट ५ जना पुरस्कृत हुनुभयो । नगर प्रहरी नायव निरीक्षक कर्णबहादुर थापा, नगर प्रहरी सहायक निरीक्षक नमराज अधिकारी, नगर प्रहरी सहायक निरीक्षक अमरविक्रम कार्की, नगर प्रहरी हवल्दार सुरेश देउला र नगर प्रहरी हवल्दार रामप्रसाद भुषाललाई यो पुरस्कार दिइएको हो ।

समारोहमा नगर प्रहरी स्थापनादेखि ३१ बर्षे अवधिको विकास क्रम, जिम्मेवारी, विकास र विस्तारको विषय समेटेको भिडियो प्रदर्शन गरिएको थियो । यस्तै गएको १ बर्षमा गरिएका महत्वपूर्ण कामसँग सम्बन्धित तस्विरहरु प्रदर्शन गरिएको थियो ।
नगर प्रहरी, नेपालको संविधानले स्थानीय तहलाई दिएको एकल अधिकार हो । काठमाडौँ महानगरपालिकाले वि. सं. २०५० साल भदौ १४ गते नगर प्रहरी सेवा थालेको हो । त्यस बेला नगर प्रहरी नायव उपरीक्षकको नेतृत्वमा विभिन्न तहमा २१९ प्रहरीको दरबन्दी थियो ।

नगर प्रहरीको विकास र विस्तारका क्रममा २०७७ साल चैत २९ गते महानगर प्रहरी बलका रुपमा विकास गरियो । २०८० असारमा सम्पन्न नगर सभाको १३ औँ अधिवेशनले महानगर प्रहरीलाई व्यवस्थित गर्न महानगर प्रहरी ऐन २०८० जारी गर्‍यो। यसबाट महानगर प्रहरी बल थप सशक्त र संगठित बनेको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *