Home  
Janahit Voice

सिन्धुपाल्चोकमा स्कारपियो गाडी दुर्घटना हुँदा २ को मृत्यु, ४ जना घाइते

१७ भाद्र २०८०, आईतवार

काठमाडौं- सिन्धुपाल्चोकको लामोसाँघु–जिरी सडकखण्डको पाँचकिलो भन्ने स्थान नजिकै बा १५ च ९३७० नम्बरको स्कारपियो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

आज बिहान साढे तीन बजेतिर दोलखाबाट खाडिचौरतर्फ जाँदै गरेको स्कारपियो गाडी आफैं अनियन्त्रित भई घुम्तीबाट करिब ३०० मिटर तल सडकै खसेको थियो ।

दुर्घटनामा काठमाडौंको नागार्जुन नगरपालिका–४ बस्ने अन्दाजी ३६ वर्षीय गाडी चालक उत्तम महर्जन र सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङ बस्ने ४१ वर्षीय बलबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

दुर्घटनाको खबर पाएपछि लामोसाँघु, ठूलोपाखर र बाह्रबिसेबाट प्रहरी टोली उद्धारमा खटिएका थिए । घाइतेहरुलाई उद्धार गरी उपचारका लागि खाडिचौरस्थित सिन्धु सदाबहार अस्पतालमा लगिएकोमा उत्तम महर्जन र बलबहादुर खत्रीलाई डाक्टरहरुले आज बिहान सवा पाँच बजेतिर मृत घोषणा गरेका थिए ।

दुर्घटनामा रामेछापको उमाकुण्ड गाउँपालिका–२ की ३७ वर्षीया संगिता बराईली, उनकी ८ वर्षीया छोरी युशा बराईली, रामेछापको गोकुलगंगा गाउँपालिका–१ की ५५ वर्षीया डोल्मा शेर्पा र काठमाडौंको नागार्जुन नगरपालिका–७ का १४ वर्षीय प्रमोद महर्जन घाइते छन् । उनीहरु चारैजनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको खाडीचौरमा प्रारम्भिक उपचारपछि धुलिखेल अस्पतालमा थप उपचार भइरहेको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *