Home  
Janahit Voice

विश्वकप छनोट: कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा

१८ भाद्र २०८०, सोमबार

काठमाडौं- मलेसियामा जारी आईसीसी महिला टि २० विश्वकप एसिया छनोटमा कतारलाई ९ विकेटले पराजित गर्दै नेपाल समूह ए बाट सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगितामा नेपालको यो लगातार चौथो जित हो । यसअघि नेपालले घरेलु टोली मलेसियालाई पाँच रन, बहराइनलाई १० विकेट र भुटानलाई तीन विकेटले पराजित गरेको थियो ।

कतारले दिएको ७५ रनको लक्ष्य नेपालले १० दशमलव ३ ओभर खेल्दै एक विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा काजल श्रेष्ठले सर्वाधिक ३२ रनको योगदान दिइन् ।

समूह ए मा लगातार चौथो जित हात पारेको नेपालको ४ खेलबाट ८ अंक छ । नेपालले अब समूहको अन्तिम खेलमा बुधबार यूएईसँग खेल्नेछ । उक्त खेल समूह विजेता बन्नका लागि निर्णायक बन्नेछ । यूएईले अहिले बहराइनसँग खेलिरहेको छ ।

यसअघि ब्याटिङमा देखिएको समस्या यस खेलमा नेपालले केही हदसम्म सुधार गर्‍यो । काजल श्रेष्ठ र सीता राना मगरले पहिलो विकेटका लागि ७ ओभरमा ४७ रनको साझेदारी गरे ।

२८ बल खेल्दै ४ चौकासमेत प्रहार गरेकी काजललाई सातौं ओभरको अन्तिम बलमा कतारकी सबिजा पनायानले बोल्ड गरे ।

त्यसपछि सीता र इन्दु मिलेर नेपाललाई जितसम्म पुर्‍याए । यी दुईले अविजित २८ रनको साझेदारी गरे । इन्दुले १२ बल खेल्दै ३ चौका मदतमा अविजित २० रन बनाइन् । यस्तै सीताले २३ बलमा अविजित १७ रन बनाइन् ।

त्यसअघि युकेएम वाईएसडी क्रिकेट ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७३ रन बनायो ।

कतारका लागि साची डादवालले सर्वाधिक २१ रन बनाउँदा ओपनर एलिना खानले १५ तथा कप्तान आयशाले १० रन जोडिन् । एन्जेलाइन मरे १४ रनमा अविजित रहिन् ।

नेपालका लागि किफायती बलिङ समेत गरेकी इन्दुले ४ ओभरमा १० रन मात्र खर्चेर ३ विकेट लिइन् । उनले १७औं ओभरको तेस्रो, पाँचौ र छैटौं बलम विकेट लिएकी थिइन् । पुजा महतो र कविता जोशीले समान एक/एक विकेट लिए ।

सन् २०२४ मा हुने वुमन्स विश्वकपका लागि एसिया क्षेत्रको छनोटमा ११ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

समूह ए मा ६ र समूह बी मा पाँच टिम छन् । दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् र फाइनल पुग्ने दुई टोली मात्र ग्लोबल क्वालिफायर्समा छनोट हुनेछ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *