Home  
Janahit Voice

राधाकृष्ण कँडेल एमालेको लुम्बिनी प्रदेश अध्यक्षमा निर्वाचित

२० भाद्र २०८०, बुधबार

काठमाण्डौं- पाल्पाका राधाकृष्ण कँडेल नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भएका छन्।

मंगलबार सम्पन्न भएको निर्वाचनको अन्तिम मतपरिणाम अनुसार अध्यक्षका प्रत्यासी प्यूठानका हरि रिजाललाई २ मतले पराजित गर्दै कँडेल विजयी भएका हुन् ।

कुल खसेको ९६५ मत मध्ये विजयी कँडेलले ४७९ मत प्राप्त गरे भने रिजालले ४७७ मत प्राप्त गरेका थिए । विजयी कँडेल पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेल निकट रहेका छन् ।

त्यसैगरी अन्य पदाधिकारीको अन्तिम मत परिणामअनुसार उपाध्यक्ष पदमा कँडेल समूहका भोजप्रसाद श्रेष्ठले ४५५ मत ल्याएर विजयी भए भने रिजाल समूहका विश्वराज बराल अनुपले ३०६ मत पाए।

सचिव पदमा कँडेलकै समूहका दाङका लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भएका थिए।

त्यस्तै पुरुष उपसचिवमा रिजाल समूहका रोल्पाका पूर्ण बुढा मगरले ४१८ मत पाएर विजयी बने भने उनका प्रतिस्पर्धी बाँकेका दुर्गाप्रसाद थारूले ३९३ मत पाए।

थारूले कँडेलको समूहबाट उम्मेदवारी दिएका थिए। त्यसैगरी महिला उपसचिवमा कँडेल समूहकै बर्दियाकी लिला राना मगर ३५२ मत ल्याएर विजयी भएकी छन्। रिजाल समूहकी बाँकेकी वसन्ती अधिकारीले ३५१ मत ल्याएर पराजित भइन्

गत १६ गते सुरू भएको एमाले लुम्विनीको प्रथम अधिवेशनमा कुल १ हजार ४ जना मतदाता रहेकोमा मंगलबार सम्पन्न निर्वाचनमा ९६५ मत मात्रै खसेको थियो ।

एमालेमा १० औँ महाधिवेशनपछि गुटगत रुपमै यसरी निर्वाचन भएको पहिलो पटक हो ।
अधिवेशनको उद्घाटन सत्र र बन्द सत्रलाई सम्बोधन गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिमै नेतृत्व छान्न निर्देशन दिएका थिए।

तर, आफूलाई बलियो ठानेका दुवै प्रतिस्पर्धीले नेतृत्व छाड्न तयार नभएपछि निर्वाचन भएको हो।

पाल्पाका कँडेललाई उपाध्यक्ष विष्णु पौडेल र प्युठानका रिजाललाई महासचिव शंकर पोखरेलसँगै अध्यक्ष केपी शर्मा ओलीको समेत समर्थन रहेको थियो।

सहमतिको नाममा अध्यक्ष ओलीले रिजालको नेतृत्वमा टिम बनाउन निर्देशन दिए पनि कँडेल पक्षले नमानेपछि निर्वाचन भएको थियो।

लुम्बिनी प्रदेशको यो अधिवेशनलाई एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको शक्तिको लडाइँको रूपमा लिँदा अझ पेचिलो बन्दै गएको थियो।

अधिवेशन प्रतिनिधीहरूसमेत नेताहरू जस्तै दुई भागमा बाँडिएर मत माग्न थालेपछि एमाले लुम्बिनीको पहिलो अधिवेशन रोचक बनेको थियो।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *