Home  
Janahit Voice

हरितालिका तीज पर्व मनाइँदै, आज चार स्थानबाट पशुपतिनाथको दर्शन गर्न सकिने

१ आश्विन २०८०, सोमबार

काठमाडौँ- भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व साेमबार भगवान महादेवको पूजा आराधना गरी मनाइँदैछ।बिहानैदेखि काठमाडाैँलगायत देशभरका शिव मन्दिरमा भक्तजनकाे घुइँचाे लागेकाे छ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ।

हरितालिका (तीज) पर्वका अवसरमा आज पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनलाई चार स्थानबाट दर्शन गराइने भएको छ । कोषले यस वर्षको तीज पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने वर्तालु भक्तजनका लागि सहज बनाउन चार स्थानबाट लाइनको व्यवस्था गरेको छ।

कोषले लाइन व्यवस्थापन, स्वयंसेवक परिचालन, स्वास्थ्य शिविर एवं निःशुल्क पानी वितरणलगायत तयारी गरेको छ। तीजका अवसरमा चारै वटा सुरक्षा निकायले पशुपति क्षेत्रमा सुरक्षा दिने गरी व्यवस्था मिलाइएको छ ।

कोटेश्वर–तीनकुने–सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने गरी पहिलो लाइनको व्यवस्था गरिएको छ । यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल आर्यघाट जाने वाग्मती नदीमाथिका दुई पुल पार गरेपछिकोमध्ये क्षेत्रमा राख्ने गरी व्यवस्था मिलाइएको छ ।

दोस्रो लाइन मित्रपार्क क्षेत्रबाट प्रवेश गर्न पाउने गरी व्यवस्था गरिएको छ । यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल शङ्कराचार्य मठअघिको क्षेत्रमा राख्न सकिने गरी व्यवस्था गरिएको कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए । तेस्रो लाम गौशाला–पिङ्गलस्थान–पञ्चदेवल क्षेत्रबाट अघि बढ्ने व्यवस्था मिलाइएको छ । यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ताचप्पल बज्रघरअघिको भागमा राखिनेछ ।

चौँथो लाम गुह्येश्वरी–उमाकुण्ड–कैलाश दक्षिण भाग हुँदै पशुपतिनाथ मन्दिरमा प्रवेश गर्नेछ । यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ताचप्पल गुरु मन्दिरअघिको खुला भागमा राखिनेछ ।

पशुपतिनाथ मूल मन्दिर र त्यस परिसरको तस्बिर एवं भिडियो खिचेमा मोबाइल जफत गरी नगद जरिवानासमेत गरिने भएको छ । पशुपतिनाथको मूल मन्दिरभित्र प्राचीनकालदेखि नै तस्बिर एवं भिडियो खिच्न मनाही गरिँदै आएको छ ।

पछिल्लो समय सबैका हातमा मोबाइल हुने र मोबाइल चलाएजसरी तस्बिर खिच्ने क्रम बढ्न थालेपछि नगद जरिवानासहित कारबाही गर्न लागिएको कोषले जनाएको हो । सनातनकालदेखि तस्बिर खिच्न मनाही गरिएको स्थानको तस्बिर खिची सामाजिक सञ्जालमा राख्ने, टिकटक बनाउने गर्ने क्रम बढ्न थालेपछि कोषले यस्तो तयारी गरेको हो ।

कोषले गत वर्षदेखि नै गर्भगृहको तस्बिर खिचेमा रु दुई हजार एक सय, मुख्य मन्दिरको तस्बिर खिचेमा रु एक हजार एक सय र मूल मन्दिर परिसरको तस्बिर खिचेमा रु पाँच सय जरिवाना गर्न सुरु गरेको छ । पशुपतिनाथ मूल मन्दिर क्षेत्रमा मोबाइलले तस्बिर खिचे नखिचेको अनुगमन गर्न कोषका कर्मचारी समूहले सुक्ष्म अनुगमन गर्न लागेको जानकारीसमेत उनले दिए ।

कोषले सोमबार बिहान ६ बजेपछि पुरुष दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर प्रवेश गर्न नदिने भएको छ । पशुपतिनाथका नित्य दर्शनार्थीलाई त्यसअघि नै दर्शन गरेर फर्कन पनि कोषले आह्वान गरेको छ ।

तीजको सुरक्षा व्यवस्थापनमा २ हजार ९६६ जना प्रहरी खटिएका छन् । यसमा महिला प्रहरीको सङ्ख्या ६ सय ३० हुनेछ । नेपाल प्रहरीका अनुसार प्रति सिफ्टमा १ हजार ४८३ जना प्रहरी खटिने भएका हुन् ।

पशुपतिनाथको मन्दिर परिसरमा तीज पर्व सम्पन्न नभएसम्म कमान्ड पोष्टको स्थापना गरिएको छ । प्रहरी वरिष्ठ उपरीक्षक हिमालय कुमार श्रेष्ठले यसको कमान्ड गर्नेछन् ।

त्यस्तै पैदल गस्ती, मोबाइल गस्ती, कर्डन, सादा पोसाक, पिकेटिङ, स्ट्राइकिङ, रिजर्भ, सिसिटिभी, वाकथ्रु गेट, ड्रोनबाट निगरानी, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन लगायतका माध्यमद्वारा तीज पर्वमा प्रभावकारी सुरक्षा व्यवस्था गरिएको छ।

प्रहरीले चाडपर्व मनाउँदा आफू सुरक्षित रही अरूलाई समेत चाडपर्व मनाउने वातावरण बनाउन आग्रह गरेको छ । तीज पर्वमा कुनै अवाञ्छित गतिविधि देखिएमा तत्कालै १०० मा प्रहरीलाई खबर गर्न आग्रहसमेत गरिएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *