Home  
Janahit Voice

तीनकुने चार जनाको सामूहिक हत्याकाण्डमा संलग्न सञ्जय भण्डारी पक्राउ

१ आश्विन २०८०, सोमबार

काठमाडौं – काठमाडौंको तीनकुनेस्थित श्री दिव्य सः मिल तथा काष्ठ उद्योगमा शुक्रबार राति भएको हत्याकाण्ड मोटरसाइकलको ठक्करपछि भएको विवादको बदला लिँदा भएको खुलेको छ।

सिन्धुपाल्चोकको बाह्रबिसे–९ घर भई काठमाडौं काँडाघारीमा बस्दै आएका २३ वर्षीय सञ्जय भण्डारीले हत्यामा संलग्नता स्वीकार गरेको अनुसन्धानमा देखिएको प्रहरीले बताएको छ।

जन्मजात बोल्न नसक्ने भण्डारीलाई जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार काँडाघारी क्षेत्रबाट पक्राउ गरेको थियो ।

घटना भएको दिन बोकेको झोला र त्यसभित्र घटनामा प्रयोग भएको खुकरीसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयले संयुक्त पत्रकार सम्मेलन गरेर आइतबार साँझ अभियुक्त भण्डारीलाई सार्वजनिक गरेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेअनुसार भण्डारीको निशानामा सःमिलमा बस्ने नवीन भन्ने विशाल राई थिए । केही पहिले राईले चलाएको मोटरसाइकलले भण्डारीलाई ठक्कर दिएको थियो । त्यस क्रममा राईले नै भण्डारीमाथि कुटपिट गरेका थिए । त्यसको प्रतिशोधमा आफूले यो घटना घटाएको भण्डारीले बयानमा बताएका छन् ।

भण्डारी काँडाघारीस्थित दिदी भिनाजुसँग बस्थे । आउजाउ गर्ने क्रममा विशाल सःमिलको घर टहरोमा राईलाई देखेका थिए । घटना भएको दिन पनि उनी राईलाई भेटेर कुराकानी गर्ने, निहुँ खोजे आक्रमण गर्ने भनेर काँडाघारीबाट आएका थिए ।

बेलुकीको समयमा सःमिलमा आइपुगेका उनी पछाडि पट्टीको बन्द गेटबाट चढेर राईको कोठामा पुगेका थिए । केहीबेरमा आएका राईले किन आएको भनेर कुटपिट गरेपछि आफूले खुकुरीले टाउकोमा प्रहार गरेको भणडरीले स्वीकार गरेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए ।

त्यसक्रममा आफूलाई देखेको भनेर अरुलाई आक्रमण गरे । उनले सुरुमा सुभद्रा भुजेल, त्यसपछि पूर्णबहादुर भुजेल र अम्बिकालाई टाउकोमै खुकुरी प्रहार गरेका थिए । ‘विशाल राईलाई रिसइबीको कारण प्रतिशोध साँधी हत्या गरेको भएता पनि अन्य तीन जनालाई घटना देखेका कारण सार्वजनिक गर्छन् भन्ने डरले हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आयो’, एक प्रहरी अधिकारीले भने ।

घटनापछि उनी फेरि काँडाघारीस्थित दिदीभिनाजुको कोठामा पुगेर सुतेका थिए । भोलिपल्ट शनिबार अरु दिनजस्तै नक्सालस्थित आफू पढेको स्कुलका साथीहरुलाई भेट्न गए ।

आइतबार भने प्रहरीले खोजिरहेको हुनसक्छ भनेर सिन्धुपाल्चोक गएर लुक्ने सोचका साथ हिँडेका थिए । हुलिया मिलेपछि उनलाई नियन्त्रणमा लिएको र उनको साथबाट घटनामा प्रयोग भएको हतियार समेत बरामद भएको प्रहरीले बताएको छ।

जन्मजात बोल्न नसक्ने उनको बयान लिन प्रहरीले सांकेतिक भाषा विज्ञलाई झिकाएको थियो । उनले सम्पूर्ण घटना एक्लै घटाएको स्वीकार गरेको, तर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *