Home  
Janahit Voice

इजरायल आक्रमणमा ४५० मृत्यु, नेपालीहरू पनि घाइते

२१ आश्विन २०८०, आईतवार

काठमाडौं- प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलविरुद्ध भीषण आक्रमण गरेको छ। शनिबार बिहानैदेखि इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच लडाइँ भएको हो।

सुरुमा हमासले इजरायलमाथि सयौं रकेटहरू प्रहार गरेपछि उक्त लडाइँ सुरु भएको थियो। बीबीसीको अनुसार हालसम्म २३० भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको छ भने १७०० भन्दा बढी घाइते भएका छन् ।

त्यस्तै २५० इजरायलीको मृत्यु भएको छ भने १५ सय घाइते भएका छन् । हमासको आक्रमणको जवाफमा इजरायलले गाजा पट्टीमा १७ सैन्य कम्पाउण्ड र ४ सैन्य मुख्यालयमा आक्रमण गरेको दाबी गरेको छ ।

प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले इजरायलमाथि गरेको आक्रमणमा नेपालीहरू पनि घाइते भएका छन्।

उक्त युद्धमा जेरुसेलममा रहेका गैरआवासीय नेपाली संघ इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीले १७ जना नेपाली कार्यरत रहेको कृषि फर्ममा आक्रमण भएको र ९ जना घाइते भए पनि बन्धक भने कोही पनि नभएको बुझिएको बीबीसीसँगको कुराकानीमा बताएका थिए।

उनले भने, ‘त्यो फर्म रहेको क्षेत्र अहिले पनि तनावग्रस्त भएकाले इजरायली सेनाले फोन उठाउन पनि दिएको छैन त्यसैले कसैसँग पनि राम्ररी कुरा हुन सकिरहेको छैन। तर, धेरै साथीहरू बंकरमा सुरक्षित रूपमा बस्नु भएको छ भनेर त्यहाँबाट मेरो सम्पर्कमा आएका चार जना साथीहरूले भन्नुभएको थियो।’

उनले हालै इजरायल आएका नेपालीहरू बसेको स्थानमा हमला भएकाले उनीहरू आत्तिएको तर स्थानीय सुरक्षाकर्मीको निर्देशन पालन गरेर बस्न आफूहरूले सुझाव दिएको पनि जानकारी दिए। त्यसबारे बुझ्दा नेपालस्थित परराष्ट्र मन्त्रालय स्रोतले त्यस्तै खबर आएको तर स्रोतहरू सीमित भएकाले पुष्टि गर्न नसकेको जानकारी दिएको छ।

इजरायलमा नेपालीहरू घाइते भएको विवरण आएपछि परराष्ट्रमन्त्री एनपी साउदले मन्त्रालयका उच्च अधिकारीसँग साँझ नै छलफल गरेका थिए।

विभिन्न विवरणमा जनाइएअनुसार हमलामा पर्ने नेपालीहरू नेपाल र इजरायलबीच भएको सरकार–सरकारबीच (जीटुजी) सम्झौताअनुसार कृषि क्षेत्रमा अध्ययनसँगै काम गर्न गएका नेपालीहरू हुन्। भण्डारीका अनुसार अहिले त्यहाँ करिब ८ सय जति नेपाली नागरिकहरू कृषि क्षेत्रमा कार्यरत रहेको बुझिएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *