Home  
Janahit Voice

हमासले चार दिनभित्र ५० बन्धकलाई रिहा गर्ने, इजरायलले चार दिनका लागि युद्ध रोक्ने

६ मंसिर २०८०, बुधबार

काठमाडौं- इजरायली सरकारले गाजामा बन्धक बनाएका ५० महिला र बालबालिकाको रिहाइको बदलामा चार दिनका लागि युद्ध रोक्न हमाससँगको सम्झौतालाई समर्थन गरेको छ।

रिहा गरिने ५० बन्धकहरू इजरायली नागरिकता वा दोहोरो नागरिकता भएकाहरू हुने अपेक्षा गरिएको बीबीसीमा उल्लेख छ ।

इजरायली प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘इजरायल सरकार सबै बन्धकहरुलाई घर फर्काउनका लागि प्रतिबद्ध छ । यो उद्देश्य पूरा गर्नका लागि पहिलो चरणको रुपरेखालाई आज सरकारले मन्जुरी दिएको छ । यसअनुसार ५० बन्धक (महिला र बच्चासमेत)चार दिनभित्र रिहा हुनेछन् । यसक्रममा लडाइ रोकिने छ ।’

बेलायत र अमेरिका लगायत धेरै देशहरूले आतंकवादी समूह मानेको हमासले अक्टोबर ७ मा इजरायलबाट करिब २४० जनालाई अपहरण गरेको थियो।

५० बन्दी मुक्त भएपछि इजरायलले प्रत्येक एक दिन युद्दविराम लम्ब्याएवापत हमासले १० जना बन्दी छाड्ने सहमति भएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।

हमासले पनि सम्झौताबारे विज्ञप्ति जारी गरेको छ । हमासका अनुसार यो सम्झौताले मानवीय सहायता, चिकित्सा आपूर्ति र इन्धन बोकेका सयौं ट्रकलाई गाजामा प्रवेश गर्न अनुमति दिनेछ।

युद्धविराम र बन्दी रिहाइ सम्बन्धी प्रस्ताव इजरायलको मन्त्रिपरिषदबाट पारित भएपछि हमासको कब्जामा रहेका करिब दुई सय जनाको रिहाइ प्रक्रिया सुरु हुने बताइएको छ । यसैअन्तर्गत पहिलो चरणमा हमासको नियन्त्रणमा रहेका ५० जना रिहा हुनेछन् ।

नेपाली युवक विपिन जोशी पनि हमासको नियन्त्रणमा रहेको इजरायल सरकारले जनाएको छ । तर उनको अवस्था थाहा हुन सकेको छैन ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *