Home  
Janahit Voice

आज सीताराम विवाहपञ्चमी महोत्सवको तेस्रो दिन धनुष यज्ञ मनाइँदै

२८ मंसिर २०८०, बिहीबार

जनकपुरधाम- आज सप्ताहव्यापी सीताराम विवाह पञ्चमी महोत्सवको तेस्रो दिन धनुष यज्ञ मनाइँदै छ । त्रेता युगमा जनकपुरधाममा भगवान् राम र आदर्श नारी सीताबिच विवाह भएको भनिएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रूपमा विवाह पञ्चमी महोत्सव मनाउने गरिन्छ।

त्रेता युगमा भगवान रामले धनुष यज्ञमा सरिक भएर कसैले उठाउन नसकेको शिव धनुष भाँचेपछि मिथिलाका राजा जनककी छोरी जानकीसित विवाह भएको धार्मिक मान्यता छ ।

त्यही मान्यता अनुसार आज विवाहपञ्चमीको तेस्रो दिन प्रत्येक वर्ष जनकपुरमा धनुष यज्ञ आयोजना हुने गर्छ । आजका दिन रामका स्वरुप बनेका बालबालिकाले धनुषा भाँचेर धनुष यज्ञ मनाउने गरिन्छ । अपराह्न धनुषा यज्ञ आयोजन गरिएको जानकी मन्दिर व्यवस्थापन पक्षले जनाएको छ ।

रामायणमा वर्णन गरिए अनुसार त्रेता युगमा राजा जनकलाई उक्त शिव धनुष भगवान पर्शुरामले प्रदान गरेका थिए । राजा जनकले उक्त धनुष उचाल्ने व्यक्तिसित मात्र छोरी सीताको विवाह गरिदिने अठोटसहित धनुषयज्ञ आयोजना गरेका थिए ।

उक्त धनुष कसैले हल्लाउन पनि सकेनन् । तर, अयोध्याबाट आएका भगवान रामले उठाएपछि धनुष टुक्रा भएको रामायणमा वर्णन गरिएको छ । त्यसपछि सीतासंग रामको विवाह भएको धार्मिक मान्यता छ ।

सप्ताहव्यापी विवाहपञ्चमीको दोस्रो दिन बुधबार साँझ जानकी मन्दिरको छेउमा रहेको विवाहमण्डपमा फूलबारी लिला मनाइएको थियो । जहाँ पहिलोपटक राम र सीताको पहिलो भेट भएको र त्यही सिताले आफूलाई राम बर नै पाउने कामना गरेको धार्मिक विश्वास छ ।

त्यस्तै पहिलो दिन मंगलबार सप्ताहव्यापी विवाहपञ्चमीको पहिलो दिन नगरदर्शन गरिएको थियो । आज धनुषा यज्ञ सकिएपछि चौथो दिन शुक्रबार तिल्कोत्सव रहेको छ ।

पाँचौ दिन शनिबार राम र जानकीको मटकोर, छैटो दिन आइतबार विवाहको मुख्य दिन विवाहपञ्चमी र छैटो दिन सोमबार रामकलेवा गरी विधिवत् रुपमा विवाहपञ्चमी महोत्सव समापन हुनेछ ।

त्रेता युगमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको सम्झनामा जनकपुरधाममा प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *