Home  
Janahit Voice

राष्ट्रिय सभा निर्वाचनका लागि आज मतदाताको अन्तिम नामावली प्रकाशन हुने

२२ पुष २०८०, आईतवार

काठमाण्डौं- आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदाताको अन्तिम नामावली आज प्रकाशन गरिने भएको छ । निर्वाचन आयोगका अनुसार निर्वाचन अधिकृतको कार्यालयमा मतदाताको अन्तिम नामावली प्रकाशन हुनेछ ।

पुस २० गतेदेखि प्रकाशित मतदाता नामावलीउपर दाबी विरोधको समय सकिएको छ । पुस २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारी दर्ताको समय छ । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सांसद र पालिका प्रमुख–उप्रमुख मतदाता हुन्छन् ।

प्रदेश सभाका सदस्य र पालिकाका प्रमुख–उपप्रमुखको मतभार अलग–अलग हुन्छ । राष्ट्रिय सभा निर्वाचनको मतभार जनसंख्याका आधारमा निकालिन्छ । निर्वाचन आयोगले २०७८ को जनगणनाको प्रतिवेदनअनुसार प्रदेश सभाको सांसदको मतभार ५३ र पालिकाका प्रमुख–उपप्रमुखहरूको मतभार १९ तोकेको छ ।

आगामी माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनमाा सुदूरपश्चिम प्रदेशअन्तर्गत बझाङको १ नम्बर प्रदेशसभा पद रिक्त छ। निर्वाचन आयोगले रिक्त र निलम्बनबाहेक राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश सदस्य ५४९ र पालिकाका प्रमुख–उपप्रमुख १४ सय ९८ कायम गरेको छ।

निर्वाचन कार्यतालिका अनुसार पुस २७ गते उमेदवारको अन्तिम नामावली प्रकाशन हुने छ भने पुस २८ मा उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदानको समय छ । फागुन २० मा राष्ट्रिय सभामा एमालेका ९ (एक मनोनीत सहित), कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ ।

२०७२ मा संविधान जारी भएपछि निर्वाचित भएका राष्ट्रिय सभा सांसदहरूको पदावधि गोला प्रथाबाट तय गरिएको थियो । गोलाप्रथामा ६ वर्ष अवधि पाएका सदस्यहरूको समय आगामी फागुन २० मा सकिन लागेको हो । राष्ट्रिय सभा सदस्यहरूको पद रिक्त हुने एक महिना अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *