Home  
Janahit Voice

विश्वकै बढी प्रदूषण हुने सहरमा पहिलो नम्बरमा काठमाडौं

३ बैशाख २०८०, आईतवार

३ वैशाख, काठमाडौं । हावाको प्रदूषण मापन गर्ने एयर भिजुअल सूचक आइक्यु एयरले काठमाडौंलाई संसारकै प्रदुषित सहरको सूचीको पहिलो स्थानमा राखेको हो।

शनिबार साँझबाट काठमाडौं संसारमा नै बढी प्रदूषण भएको सहरमा पहिलो, दोस्रो र तेस्रो स्थानमा घटबढ भइरहेको छ। वातावरण विभागले जंगलमा लागेको डढेलोका कारण वायु प्रदूषण बढेको बताएको छ । आइतबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा वातावरण विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले डढेलोका कारण नै देशभर प्रदूषण बढेको बताए ।

पानी नपरेका कारण हावा वहन नसक्दा प्रदूषण एकै ठाउँमा थुप्रिएको उनको भनाइ छ । बारा, पर्सा र चितवन क्षेत्रको धुवाँका कारण काठमाडौंमा प्रदूषण बढेको स्याटेलाइट इमेजमा देखिएको पौडेलले बताए ।

विज्ञ उप्रेतीले नेपालमा अहिले पश्चिमी वायुको प्रभाव कम रहेकाले पनि हावा बहन नपाएको र हावा नबहँदा उपत्यकामा प्रदूषण बढेको बताए। आजदेखि नै पश्चिमी वायु नेपालमा प्रवेश गर्ने भए पनि प्रदूषण हट्न भने अझै केही दिन लाग्ने बताए।

उनले अहिले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले तोकेकोभन्दा २२ गुणा बढी प्रदूषण काठमाडौंमा रहेको उल्लेख गरे।

उनले भने, ‘हिजो साँझ काठमाडौं संसारकै पहिलो प्रदूषण बढी भएको सहरमा मापन भएको थियो। आज बिहान बंगलादेशको ढाकामा सरेको छ। फेरि बेलुकासम्म काठमाडौं हुनसक्छ। समग्रमा अहिले प्रदूषण सबभन्दा बढी हुने दक्षिण एसियामा हो, त्यसमा सबभन्दा बढी भारतमा १० वटा सहर पर्दछ। हामीकहाँ कहिलेकाहीँ केही कारणले सर्छ र हामी पनि पहिलोमा पर्छौं। अहिले वनमा आगो लागेको छ, यो पनि एउटा प्रमुख कारण हो। वनमा अहिले आगलागी भइरहेको छ, बागमती प्रदेश र वरपरको वनको आगलागी हो र भारतको विहार उत्तरप्रदेशमा बालिएको आगोले हो, गहुँको भुस वा केही जलाउन बालेको आगोले हो।’

उनले प्रदूषण बढ्नुमा आगलागी र सडकको धुवाँधुलो प्रमुख कारण रहेको बताए।

‘एउटा पिएम २.५ भन्ने पार्टीकुलेट म्याटरको कन्सलटेसन हावामा बढाउने माध्यमको रूपमा एउटा आगो हो। एउटा सडकबाट उड्ने धुलोका कारण हो। सवारी साधनको धुँवा पनि हो। अर्को नेपालमा अहिले पश्चिमी वायुको प्रभाव कम छ। वायु चलेन भने काठमाडौंमा प्रदूषण रहिरहन्छ। त्यसको असर अहिले काठमाडौंमा छ’, उनले भने, ‘आजैदेखि पश्चिमी वायु नेपाल प्रवेश गर्दैछ र पनि अझै दुई दिनसम्म यस्तो अवस्था भई नै रहन्छ। पश्चिमी वायुको असर काठमाडौंमा हुन्छ र यसले केही राहत दिन्छ। विश्व स्वास्थ्य संगठनले तोकेकोभन्दा २२ गुणा बढी प्रदूषण काठमाडौंमा बसेको छ, यो हिजो २५ गुणा बढी थियो।’

वायु प्रदूषण बढिरहेकाले घरबाहिर सकेसम्म ननिस्किन र निस्कनै परे मास्कको अनिवार्य प्रयोग गर्न विज्ञहरूको सुझाव छ।

‘एउटा कुरा हामी सबैले गर्नुपर्ने र सरकारले पनि आग्रह गर्नुपर्ने कुरा मास्कको प्रयोगलाई अनिवार्य गर्नुपर्छ, थोरैमा एक महिनासम्म। सडकमा धुलो छ कि त्यहाँ पानी छरौं, कि कालोपत्रे गरौँ। सकिँदैन भने धुलो उडाउने काम बन्द गरौं। प्रदूषण छ र अझै केही दिन रहिरहन्छ। एक, दुई दिनमा घट्छ तर फेरि आउँछ। किनभने यस पटक हिउँदे वर्षा भएन, अब वर्षे वर्षा हुने हो, त्यो पनि औषतभन्दा कम हुँदैछ’, उनले भने, ‘प्रदूषणमात्रै होइन, गहुँ भित्र्याउँदादेखि भुस पोल्ने क्रम बढ्दै जान्छ, पश्चिमी वायु कमजोर हुँदै जाँदा प्रदूषणको मात्रा झनै बढ्नेवाला छ। केही दिनको लागि धुँवा निकाल्ने सवारी साधन र मापदण्डबाहिरका सवारी साधन छन्, ती सवारी साधनहरूलाई केही दिन कम गर्नुपर्छ र वा बन्द नै गर्नुपर्छ। यसले ब्लड प्रेसर बढाउँछ, मुटुको समस्या हुने, हामीले दिनदिनै विष खाइरहेका छौं, यसबारे सचेत हुनुपर्छ।’

जलवायु तथा विपद् विज्ञ उप्रेतीले प्रदूषणबाट बच्नका लागि सरकारले आम नागरिकहरूलाई मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गर्नुपर्ने सुझाव दिए।

वायु प्रदूषण्का कारण ब्लड प्रेसर बढ्ने, मुटुको समस्या, क्यान्सर लगायतका समस्या बढ्ने बताए।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *