Home  
Janahit Voice

नागरिकता कानुनले नेपाली महिलालाई दियो पुरूषभन्दा कम अधिकार

१८ जेष्ठ २०८०, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रमाणीकरण गरेको नागरिकता सम्बन्धी विधेयकले जन्मसिद्ध नागरिकका सन्तान र प्रवासमा बस्ने नेपालीलाई न्याय दिएको छ। नेपाली महिलालाई भने यसले दोस्रो दर्जाका नागरिकको हैसियत जारी राखेको छ।

 

यो कानुनले तीन वटा अवस्थामा महिलालाई पुरूषलाई भन्दा कम अधिकार भएका नागरिकको हैसियत प्रदान गरेको छ।यो कानुनअनुसार महिलाले आफ्नो नामबाटमात्र सन्तानलाई नागरिकता दिलाउन चार वटा शर्त पूरा गर्नुपर्ने छ। जबकी पुरूषले आफ्नो नामबाट बिना कुनै शर्त आफ्ना सन्तानलाई नागरिकता दिलाउन सक्छ ।

 

महिलाले आफ्ना सन्तानलाई नागरिकता दिलाउन नेपालमै जन्मेको हुनुपर्ने, नेपालमै बसोबास गरेको हुनुपर्ने, बाबुको पहिचान नभएको हुनुपर्ने र बाबुको पहिचान नभएको घोषणा गर्नुपर्नेछ। पुरूषले आफ्नो नामबाटमात्र सन्तानलाई नागरिकता दिलाउनका लागि कुनै पनि शर्त पूरा गर्नु पर्दैन। उनीहरूले आफ्नो नागरिकता देखाएर सजिलै सन्तान लाई नागरिकता दिलाउन सक्ने छन्।यो व्यवस्थाले महिलालाई स्वतन्त्र नागरिकको रूपमा पुरूषसरह व्यवहार गरेको छैन ।

 

बच्चाको नागरिकता बनाउने बेलासम्म पहिचान नभएको बाबु पछि आएर सन्तान दाबी गर्‍यो र ऊ जैविक रूपमा बाबु भएको प्रमाणित भए आमाले सजाय भोग्नुपर्ने यो विधेयकले व्यवस्था गरेको छ।यस्तो अवस्थामा महिलालाई एक वर्षदेखि तीन वर्षसम्म कैद वा एक लाखदेखि तीन लाख रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने छ।

 

नेपाली महिलाले कुनै विदेशी पुरूषसँग विवाह गरिन् र ती पुरूष स्थायी रूपमा नेपाल बस्न चाहे भने पनि उनले नागरिकता पाउने छैनन्। आफ्नो देशको नागरिकता त्याग्छु र नेपालमै बसोबास गर्छु र यहीँको कानुन मान्छु भनेर आएका नेपाली महिलाका त्यस्ता विदेशी श्रीमानले कहिल्यै अंगीकृत नागरिकता पनि लिन पाउने छैनन्।

 

जबकी नेपाली पुरूषले बिहे गरेर ल्याएका विदेशी महिलाले भने चाहेको बखत सजिलै अंगीकृत नागरिकता पाउने छन्। उनीहरूले आफ्नो देशको नागरिकता त्याग्ने प्रक्रिया सुरू गरे बिहेको भोलिपल्टै पनि नागरिकता पाउने छन्। र, उनीहरू सदैव नेपाल नै बस्नुपर्छ भन्ने छैन।

 

एउटै बाबुआमाका सन्तानमध्ये दाजुका विदेशी श्रीमतीलाई यो कानुनले सजिलै नागरिकता दिनेछ, बहिनीका विदेशी श्रीमानलाई कहिल्यै नागरिकता दिने छैन। त्यसैले यो कानुनले नेपाली महिलालाई स्वतन्त्र नागरिकको हैसियत दिएको छैन।

 

कानुनले विदेशीबाट जन्मिएका नेपाली महिलाका सन्तानले बाबुको देशको नागरिकता लिएको छैन भनेमात्र नेपालको नागरिकता पाउने व्यवस्था गरेको छ। तर उसले आमाको नामबाट वंशजको नागरिकता पाउने छैन। अंगीकृत नागरिकता पाउने छ। जबकी नेपाली पुरूषले विदेशी महिला विवाह गरे पनि उनीहरूबाट जन्मिएका सन्तानले वंशजको नागरिकता पाउने छन् अंगीकृत नागरिक यो देशको राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख बन्न पाउने छैनन्।

 

नेपालको नागरिकतासम्बन्धी व्यवस्थाले पुरूषलाई पहिलो दर्जा र महिलालाई दोस्रो दर्जाको नागरिक ठहर्‍याएकोबुझ्न सकिन्छ।नागरिकतासम्बन्धी ऐन २०६३ ले आमा वा बावुको नामबाट सहजै नागरिकता पाइने व्यवस्था गरेको थियो।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *