Home  
Janahit Voice

बारामा हतियारसहित पक्राउ परेका ब्यक्ति लाई स्थानीयले भगाएपछि झडप, दुई प्रहरी घाइते

१६ श्रावण २०८०, मंगलवार

बाराको जितपुरसिमरा उपमहानगरपालिका– १६ टाङियाबस्तीमा स्थानीय र प्रहरीबीच झडप भएको छ। इलाका प्रहरी कार्यालय निजगढले मंगलबार बिहान ६ बजेतिर हतियार रहेको आशंकामा छापा मारी पक्राउ गरेको ३५ वर्षका सागर लामालाई प्रहरी कार्यालय लैजान नदिन स्थानीय विरोधमा उत्रिएपछि दोहोरो झडप भएको हो।

करिब तीन सयको संख्यामा आएका स्थानीयले १५ जनाको संख्यामा रहेका प्रहरी टोलीमाथि ढुंगामुढा गरी हतियारसहित पक्राउ परेका लामालाई हतकडीसहित भगाएका छन्। दोहोरो झडपमा प्रहरी वरिष्ठ नायब निरीक्षक कलमबहादुर शाही र प्रहरी सहायक निरीक्षक बालराज गिरी घाइते भएका छन्। शाहीको बायाँहातमा चोट लागेको छ भने गिरीको बायाँ कुम र बायाँहातमा चोट लागेको छ।

स्थानीय प्रहरीविरुद्ध खनिएपछि प्रहरीले पाँच राउन्ड हवाई फायरसमेत गरेको छ। ठूला हतियार रहेको गोप्य सूचनाको आधारमा लामाको घरमा छापा मार्नका लागि प्रहरी निरीक्षक घनश्याम श्रेष्ठको नेतृत्वमा १५ जनाको टोली उनको घरमा बिहानै पुगेको थियो।

लोड भएको भरुवा बन्दुकसहित पक्राउ परेका लामालाई वडा सदस्यको रोहवरमा मुचुल्का बनाएर लैजाने क्रममा जंगलछेउ बाटोमा दोहोरो भिडन्त भएको जिल्ला प्रहरी कार्यालय बाराले बताएको छ। लामाबाट लोड गरेको भरुवा बन्दुक एक थान, बन्दुकको गोली दुईवटा, बाघजस्तो देखिने दाँत दुईवटा, रौँ १३ वटा र नंग्रा तीनवटा बरामद गरेको प्रहरीले बताएको छ।

लामा वन्यजन्तुको सिकारमा संलग्न रहेको प्रहरीको दाबी छ। स्थानीयले भगाएका उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *