Home  
Janahit Voice

सुन प्रकरणको थप अनुसन्धान सिआईबीले गर्ने

१९ श्रावण २०८०, शुक्रबार

काठमाडौँ – सुन प्रकरणको अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीलाई जिम्मा लगाउने भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन अनुसार राजश्व अनुसन्धान विभागले गरिरहेको सुन तस्करीको थप अनुसन्धान अब नेपाल प्रहरीको सिआईबीले पनि गर्ने भएको छ ।

सुन तस्करी प्रकरण संगठित अपराध र अन्तर्देशीय अपराध भएकोले त्यसको जरैसम्म पुग्नेगरी प्रहरीमार्फत अनुसन्धान गर्न प्रधानमन्त्रीले निर्देशन दिएका हुन् ।

करिब १ सय किलो  सुन प्रकरणमा हाल राजस्व अनुसन्धान विभागमार्फत अनुसन्धान जारी छ । यो प्रकरणमा भन्सारका अधिकृतसहित तीन कर्मचारी, बेल्जियन, भारतीय र चिनियाँ गरी तीन विदेशी नागरिकसहित १८ जना पक्राउ परिसकेका छन् ।

संगठित र अन्तरदेशीय अपराध भएकोले जरैसम्म पुग्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट अनुसन्धान गर्न प्रधानमन्त्रीले बिहीबार निर्देशन दिएका हुन् । गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रहरी महानिरीक्षक बसन्त कुँवर, राजश्य अनुसन्धान विभागनका निर्देशक नवराज ढुंगाना र सिआईबी प्रमुख एआईजी किरण बज्राचार्यलाई कार्यालयमा बोलाएर प्रधानमन्त्रीले सिआईबीबाट थप अनुसन्धान गर्न निर्देशन दिएका हुन् ।

सुन प्रकरणमा भइरहेको अनुसन्धान, यसका उपलब्धि र थप अनुसन्धानका विषयबारे समीक्षा गर्न बसेको बैठकमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, महान्यायाधिवक्ता दिनमणि पोखरेलसमेत सहभागी थिए । विभागबाट भइरहेको अनुसन्धान एउटा तहमा पुगेकोले त्यसलाई अझ बलियो र संगठित गिरोहसम्म पुग्न संगठित अपराधको अनुसन्धान गर्ने निश्कर्षमा प्रधानमन्त्री पुगेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले अनुसन्धानमा ज–जसको संलग्नता खुल्छ, कारबाहीको दायरामा ल्याउन र कुनै कसुर बाँकी नराख्न निर्देशन दिएको बताइएको छ । ‘माओवादीका नेता वा अरु जो कोहि परे पनि अघि बढ्नुस्, सरकारबाट पूर्ण सहयोग रहन्छ,’ प्रधानमन्त्री दाहालको भनाइ उदृत गर्दै स्रोतले भन्यो ।

विभागका महानिर्देशक नवराज ढुंगानाले संगठित रुपमा तस्करी भएकोले विभागले आफ्नो अनुसन्धान जारी राख्दै प्रहरीले पनि अनुसन्धान गर्ने जानकारी दिएका छन् । त्यसबारे विभाग, प्रहरी र महान्यायाधीवक्तासमेतको बैठकपछि टुंगो लाग्ने बताइएको छ ।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *