Home  
Janahit Voice

महानगरले सामाखुशी खोलामाथिको स्ल्याब हटाएपछि डोजरले सफा गर्न थाल्यो खोला

२१ श्रावण २०८०, आईतवार

काठमाडौं महानगरपालिकाले सामाखुशी मुख्य सडकमा रहेको सबै स्ल्याब हटाएर खोला सफा गरिरहेको छ। आइतबार सामाखुशीस्थित रेडन स्कुल हुँदै बग्ने सामाखुशी खोलामाथिको स्ल्याब हटाएपछि काठमाडौं महानगरले डोजरको प्रयोग गरी खोला सफा गरिहरहेको हो।

महानगरले खोलाको राइट-वे खुला हुनुपर्छ भन्दै असारबाट सामाखुशीस्थित विभिन्न ठाउँको खोलामाथि रहेका स्ल्याब हटाउन सुरू गरेको थियो। अहिले महानगरले रानीबारी चोकदेखि रेडन स्कुल क्षेत्रमा स्ल्याब हटाएको खोला सफा गर्ने काम गरिरहेको हो। स्ल्याब हटाएर खोलालाई पुरानै स्वरूपमा ल्याउने महानगरपालिकाले बताएको छ।

यस्तै खोला मिचेर बनाइएका घरहरू पनि भत्काइने वडा-३ का वडाध्यक्ष प्रेम थापाले बताएका छन्। ‘उहाँहरूले ०६५ अघिको मापदण्ड अनुसार बनाउनुभएको रहेछ, ती घरहरूलाई हटाएर ४ मिटर, ६ मिटर र ८ मिटरको मापदण्ड कार्यान्वयन गर्ने र साइड साइडमा वृक्षारोपण गर्ने तयारी पनि छ,’ उनले भनेका छन्।

यस्तै वडा नम्बर ३ मा २० वटा भत्काउनुपर्ने घर भएको उनले बताए। केहीले भने अदालतबाट स्टे अर्डर नै ल्याइसकेका छन्। उनका अनुसार क्षतिपूर्ति र मुहाब्जा पाए स्थानीय घर छोड्न तयार छन्। त्यसबारे लगातार छलफल समेत भइरहेको उनले बताए।

यही खोलामा साउन ७ गते १३ वर्षीय बालक साजन मगर खसेका थिए। अन्य ठाउँमा स्ल्याब राखिएता पनि एक ठाउँमा खुला हुँदा उनी त्यहाँ खसेर बेपत्ता भएका थिए। गत बिहीबार दक्षिणकाली नगरपालिका-७ भुल्कास्थित बागमती नदी किनारमा उनी मृत फेला परेका थिए।

खोला पुरानै स्वरूपमा आएपछि त्यसको दायाँबायाँ पर्खाल उठाउने र फलामको बार लगाइने वडाध्यक्ष थापाले बताएका छन्। खोलामा त्रिवि शिक्षण अस्पताल, कान्ति अस्पताल, मनमोहन अस्पताल, प्रहरी अस्पताल, प्रहरी प्रशिक्षण प्रतिष्ठान, राष्ट्रपतिको कार्यालय लगायतका सबै निकायको ढल मिसिने गरेको छ। जसले गर्दा खोला एकदमै दुर्गन्धित हुने गर्छ।

अब ती ढल समेत खोलामा मिसाउन नदिने र ढलका लागि महानगरले छुट्टै व्यवस्थापन गर्ने बताइएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *