Home  
Janahit Voice

संखुवासभा कारागारमा कुटपिटबाट कैदीको मृत्यु भएको खुलासा,प्रहरीसहित १५ जना नियन्त्रणमा

२८ श्रावण २०८०, आईतवार

संखुवासभा- गत २४ गते बुधबार जिल्ला कारागार संखुवासभामा कैद सजाय भुक्तान गरिरहेका संखुवासभाको मादी नगरपालिका– ५ का १९ वर्षीय विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको कुटपिटबाट मृत्यु भएको थियो।

उनिहरुको कुटपिटबाट मृत्यु भएको संखुवासभाका प्रहरी नायव उपरीक्षक (डीएसपी) बीरेन्द्र गोदारले पुष्टि गरे ।

कारागारको शौचालयको झ्यालका रड काटेर भाग्न खोजेको भन्दै कैदी तोलाङ्गी र बलामीलाई बुधबार बिहानका राति १ बजेतिर प्रहरीले नियन्त्रणमा लिएको थियो । कुटपिटमा कारागारको सुरक्षामा खटिएका प्रहरीको समेत प्रत्यक्ष संलग्नता देखिएको छ ।

कारागारमा रहेको सीसीटिभी फुटेज अध्ययनबाट प्रहरीले कैदीलाई कुटपिट गरेको देखिएको हो । फुटेज हेरेपछि कारागारको सुरक्षामा खटिएका १० जना प्रहरी सहित १५ जनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरीक्षक गोदारले बताए ।

पीडित पक्षको किटानी जाहेरी आएपछि म्याद थप गरेर घटनामा संलग्नमाथि थप अनुसन्धान गरिने प्रहरी नायव उपरीक्षक गोदारले बताए । कुटपिटमा कारागारको सुरक्षामा खटिएका प्रहरी र चौकीदार,नाइके,बडानाइके सहित ५ जना कैदीबन्दी संलग्न भएको देखिएको छ । नियन्त्रणमा लिइएका १५ जना माथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कारागारको सुरक्षामा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा २० जना प्रहरी परिचालित थिए । घटनामा प्रहरीको संलग्नता देखिएपछि असइ लक्ष्मी चौधरी सहित १० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कैदीको मृत्यु भएको घटनाको अनुसन्धानका लागि भनेर प्रहरीले कारागारका चौकीदार रामकुमार कार्कीसहित नौ जना कैदीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ । उक्त घटना कारागारको ए ब्लकमा भएको हो । ए ब्लकमा ६६ जना कैदीबन्दी थिए ।

घटनामा प्रहरीको समेत संलग्नता देखिएपछि कोसी प्रदेश प्रहरी कार्यालयले एसपी (प्रहरी उपरीक्षक) ऋषिराम कँडेलको नेतृत्वमा ४ सदस्यीय छानबिन समिति बनाएको छ । समितिमा प्रहरी निरीक्षक जितेश दाहाल, प्रहरी नायव निरीक्षक रुद्रबहादुर खड्का र हवल्दार तीर्थ भट्टराई सदस्य छन् । कोसी प्रदेश प्रहरीको छानविन समितिले काम सुरु गरिसकेको छ ।

घटनापछि जिल्ला सुरक्षा समिति संखुवासभाले सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको नेतृत्वमा बुधबार तीन सदस्यीय छानबिन समिति बनाएको थियो । समितिमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक सरोज खनाल र प्रशासन कार्यालयका नासु तारिणी घिमिरे सदस्य छन् ।

जिल्ला कारागारमा दुई कैदीको शंकास्पद मृत्यु भएको आरोप लागेपछि गृह मन्त्रालयले समेत छानविन समिती गठन गरेको छ । गृह मन्त्रालयले कारागार व्यवस्थापन विभागका निर्देशक एवं प्रवक्ता कमलप्रसाद पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन गठन गरेको छ ।

समितिमा नेपाल प्रहरीका डीएसपी (प्रहरी नायव उपरीक्षक) कौशलकुमार बुढाथोकी, राष्ट्रिय अनुसन्धानका डीएसपी कुमार बुढाथोकी, कारागार विभागका कानुन अधिकृत तुलबहादुर खड्का र जिल्ला प्रशासन कार्यालय संखुवासभाका प्रशासकीय अधिकृत सदस्य छन् । गृह मन्त्रालयको छानविन टोली शुक्रबार संखुवासभा आइपुगेको छ । टोलीले अनुसन्धान सुरु गरेको छ । अहिले संखुवासभा कारागारमा आठ महिलासहित एक सय ३६ जना कैदीबन्दी छन् ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *