Home  
Janahit Voice

भ्रष्टाचारमा सम्लग्न प्रधानमन्त्री नै किन नहोस् छोड्नु हुँदैन : प्रधानमन्त्री प्रचण्ड

१२ भाद्र २०८०, मंगलवार

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनुसन्धानका क्रममा प्रधानमन्त्री नै आए पनि छोड्न आवश्यक नभएको बताएका छन् ।प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्री दाहालले आफ्नो पार्टीका नेताहरूलाई बचाउन नलागेको बताएका छन्।

सबै भ्रष्टाचार प्रकरणमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री दाहालले बताए । ‘सबै किसिमका भ्रष्टाचारलाई तथ्य र प्रमाणका आधारमा दोषीलाई कारबाहीको दायरामा ल्याउनका लागि सरकार प्रतिबद्ध छ । भ्रष्टाचारको मामिलामा यो आफ्नो, यो पराइ भनेर सरकारले कसैलाई विभेद गरेको छैन र गर्ने पनि छैन । कानुनी समानताको सिद्धान्तलाई सरकारले पूर्णतः आत्मसाथ गरेको छ र गरिरहने छ,’ उनले भने ।

प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ का क्रममा प्रधानमन्त्री दाहाललाई राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम साहले विभिन्न पार्टीका नेताहरूलाई ‘साइज’मा राख्ने काम भइरहेको आरोप लगाएका थिए । उनले भनेका थिए, ‘नक्कली भुटानी शरणार्थीको फाइल खोलेर कांग्रेसलाई साइजमा राख्नुभयो । ललिता निवासमार्फत एकीकृत समाजवादीलाई साइजमा राख्नुभयो । गौर हत्याकाण्डमार्फत जसपालाई । अब गिरीबन्धुमार्फत नेकपा एमालेलाई साइजमा राख्न ट्राई गर्दै हुनुहुन्छ । आफ्नो कुर्सी बचाउन दाउपेच गरेर कामले जनताको मन जितेर कुर्सीको आयु लामो बनाउन सकिँदैनथ्यो ?’ साहको प्रश्न थियो ।

जवाफमा प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वको सरकारले सुरुदेखि नै सामाजिक न्याय, सुशासन सुनिश्चितता र सार्वजनिक सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताए । सरकार टिकाउनका लागि भ्रष्टाचारका फाइल नखोजेको पनि दाहालको भनाइ थियो । उनले भने, ‘भुटानी शरणार्थी प्रकरणलगायतका सबै घटनामा राज्यले दबाबरहित ढंगले निष्पक्ष छानबिन अघी बढाएकै कारण अहिले जनतामा सुशासन सम्भव छ भन्ने एउटा नयाँ आशा पलाएको हो ।’

प्रधानमन्त्री दाहालले सरकार भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिएर अघि बढेको बताए । ‘वर्तमान सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिलाई राज्यका तीनै तहमा कडाइका साथ कार्यान्वयन गर्दै आएको छ । कसैललाई पनि बचाउने या कसैलाई पनि अप्ठ्यारोमा पार्ने नीयतले कुनै पनि काम गरिएको छैन । जसरी कतिपय सन्दर्भमा मिडियामा आउने गरेको भन्दा ठिक विपरीत मैले दोषी कोही पनि नछुटोस्, निर्दोष कोही पनि नपरोस् भन्ने सिद्धान्तअनुसार नै प्रहरी प्रशासन लाई निर्देशन दिएको छु,’ उनले भने, ‘यदि अनुसन्धानको क्रममा प्रधानमन्त्री नै आउँछ भने छोड्न आवश्यक छैन । मेरो पार्टीको कुनै नेताको त के कुरा भन्ने कुरा सार्वजनिक रूपमा भन्दै आएको जानकारी गराउन चाहन्छु ।’

उनले आफ्नो या पराय भनेर विभेद नगरेको भन्दै उनले सबै भ्रष्टाचारमा संलग्नहरुलाई तथ्य र प्रमाणका आधारमा करबाही गर्ने बताएका छन् ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *