Home  
Janahit Voice

सूर्यविनायक-रत्नपार्क रुटमा पुनः सुरु हुँदै द्रुत बस सेवा

१० मंसिर २०८०, आईतवार

काठमाडौं- रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजदेखि पुनः सञ्चालनमा आउँदै छ । त्यसका लागि सडक पुनः रङरोगन गरिएको छ ।

ठाउँ ठाउँमा बोर्ड राखिएका छन् । यस सेवाका लागि ११ वटा बस थपिएको यातायात व्यवस्था विभागले जनाएको छ । यसअघि २५ वटा बस चलाइएको थियो । थप ११ वटा समेत गरी अब रत्नपार्क-सूर्यविनायक रुटमा ३६ वटा बस चल्ने छन् ।

काठमाडौं उपत्यकाको यातायात क्षेत्रमा सुधार ल्याउने उद्देश्यले द्रुत बस सेवा सञ्चालनमा ल्याएको सरकारले जनाएको छ । रत्नपार्कदेखि सूर्यविनायकसम्म १३ दशमलव ४ किलोमिटर दूरी रहेको छ । द्रुत बस सेवा सञ्चालनपछि सो दूरीको यात्रा करिब ४५ मिनेटमा सीमित हुनेछ ।

ती बस आज बिहान साढे ८ बजेदेखि तीन/तीन मिनेटको अन्तरमा सूर्यविनायकबाट रत्नपार्क प्रस्थान गरेका छन् । सूर्यविनायकदेखि रत्नपार्क साढे १० बजेसम्म चल्ने र दिउँसो साढे ३ बजेदेखि साढे ५ बजेसम्म रत्नपार्कदेखि सूर्यविनायकसम्म चल्ने गरी तालिका बनाइएको छ ।

यसअघि ती बस रत्नपार्क र सूर्यविनायक दुवै तर्फबाट ५/५ मिनेटको फरकमा छुट्थे र दैनिक बिहान ९ बजेदेखि ११ बजेसम्म तथा अपराह्न ४ बजेदेखि साँझ ६ बजेसम्म चल्थे । द्रुत बस सेवालाई थप प्रभावकारी बनाउन बसहरु थपिएको र समय तालिकामा पनि केही संशोधन गरिएको मन्त्रालयको भनाइ छ ।

रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँ बानेश्वर, शान्तिनगर, कोटेश्वर जडीबुटी, कौशलटार, गट्ठाघर, चारदोबाटो, सूर्यविनायकलगायत १९ स्थानमा बस स्टप रहनेछ । त्यहाँबाट उक्त बस चढ्न र ओर्लन सकिनेछ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *